माओवादी जनयुद्धको उद्गम थलो मानिएको रोल्पाका १० स्थानीय तहमध्ये ९ स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवारहरुले सुरुवाती मतगणनामा अग्रता हासिल गरेका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले विजय हासिल गरेको गंगादेव गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा माओवादी केन्द्रले अग्रता हासिल गरेको हो।
एकीकृत समाजवादीसँग गठबन्धन गरे पनि सो गाउँपालिकामा माओवादीका अध्यक्ष प्रत्यासी वीरबहादुर ओली कांग्रेस र एमालेका उम्मेदवारभन्दा पछाडि छन्।
यहाँ कांग्रेस अध्यक्षका उम्मेदवार हरिबहादुर पुनले ५ सय ८४ मतसहित अग्रता हासिल गर्दा एमालेका रोशनकुमार ओलीले ४ सय ६४ र माओवादी केन्द्रका निवर्तमान अध्यक्ष वीरबहादुर खत्रीले ३ सय ३० मतमात्र प्राप्त गरेका छन्।
आफूले जितेको यो गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा पुग्दा यसअघि गुमाएका तीन पालिकामा भने माओवादी केन्द्रका उम्मेदवार अगाडि छन्।
यसमध्ये नेपाली कांग्रेसले विजय हासिल गरेको लुङ्ग्री गाउँपालिका र एमालेले जितेको त्रिवेणी र रुन्टीघन्टी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन्।
यसअघिपनि माओवादी केन्द्रले विजय हासिल गरेको सदरमुकाम रहेको रोल्पा नगरपालिका, थवाङ्ग, माडी, परिवर्तन, सुनछहरी र सुनिल स्मृति गाउँपालिकामा माओवादी केन्द्रकै उम्मेवार अगाडि छन्।
जिल्लाका अधिकांश गाउँपालिकामा कांग्रेस, एमाले र नेत्रविक्रम चन्द (विप्लव) समर्थित नेकपाका स्वतन्त्र उम्मेदवारहरुले गठबन्धन गरेका छन् । गठबन्धनका बाबजुद पालिकाहरुको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रकै उम्मेदवार अगाडि छन्।
प्रतिक्रिया