ad ad

रोजगार


सिसेल्स र नेपालबीच श्रम सम्झौता गर्ने सहमति

सिसेल्स र नेपालबीच श्रम सम्झौता गर्ने सहमति

नेपालखबर
चैत ४, २०७८ शुक्रबार २१:७, काठमाडौँ

गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

द्विपक्षीय भेटवार्तामा उनीहरुबीच नेपाल र सिसेल्सको द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। 

रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुंगोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ।

वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरु लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिँदै सिसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताए।

न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्ती लगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ।

कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा थानेश्वर भुषालले नेतृत्व गर्नेछन्।

अहिले १२ सय ५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेको बताउँदै मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीहरुलाई ल्याउन इच्छुक रहेको बताए।

सिसेल्स अहिले सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन्। यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही श्रमिकहरु कार्यरत छन्। 

द्विपक्षीय भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाको साथै सिसेल्सको प्रहरी सेवा पनि नेपालीहरुलाई रोजगारी दिन सकिने बताएका थिए।

भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव डा थानेश्वर भुषाल थिए भने गणतन्त्र सिसेल्सको रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको उपस्थिति थियो।

नेपाल र सिसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .