ad ad

रोजगार


‘बेरोजगारी अन्त्य’का लागि तालिम प्रतिष्ठान बनाउने सरकारको तयारी

‘बेरोजगारी अन्त्य’का लागि तालिम प्रतिष्ठान बनाउने सरकारको तयारी

नेपालखबर
चैत २९, २०७८ मंगलबार १०:१०, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ। 

मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन रोजगारी सिर्जना गर्न अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानको अवधारणा अघि बढाएको हो। 

ठूलो सङ्ख्यामा श्रमबजार प्रवेश गर्ने श्रमशक्तिलाई सीपयुक्त बनाउने, एकीकृत तथ्याङ्क प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरूलाई रोजगारीमा आबद्ध गराउने मन्त्रालयको योजना छ।

मन्त्रालयले यसअघिदेखि नै विभिन्न सरकारी निकायबाट विधागत रूपमा प्रदान गरिने तालिमको प्रभावकारिता नदेखिएको भन्दै प्रतिष्ठान बनाएर सबै प्रकारका तालिम एकै संस्थाबाट प्रदान गर्नुपर्ने विषय उठाउँदै आएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैँसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानलाई पुनःसंरचना गरी अधिकारसम्पन्न संस्थाका रूपमा विकास गरिने जानकारी दिए। 

प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले दर्जनभन्दा बढी सरकारी निकायले एकै किसिमको तालिम कार्यक्रम सञ्चालन गरे पनि परिणाममुखी नभएकाले गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डको तालिम प्रदान गर्न नीतिगत तथा कानुनी व्यवस्थाका लागि तयारी अघि बढाइएको बताए। 

मन्त्रालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भएअनुसार सीपयुक्त जनशक्ति उत्पादनका लागि प्रतिष्ठानलाई अधिकारसम्पन्न बनाइनुपर्छ भने। 

प्रतिष्ठानलाई गुणस्तरीय, विश्वसनीय र प्रतिस्पर्धी बनाउन नीतिगत, कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ छ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रेमलाल लामिछानेले आफ्नै प्रत्यक्ष व्यवस्थापन तथा तालिम प्रदायक संस्थामार्फत आधारभूत तालिम, उद्यमशीलता विकास तालिम, प्रशिक्षक प्रशिक्षण गरी तीन लाख १० हजार बढीलाई तालिम प्रदान गरिएको बताए। तालिम सञ्चालनसम्बन्धी छुट्टै नीति तथा कानुन नभएकाले सीप विकास तालिम व्यवस्थित हुन नसकेको उनको भनाइ छ। 

प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप तालिम कार्यक्रम अहिले विभिन्न मन्त्रालय, विभाग तथा अन्य सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरे पनि लगानीअनुसार प्रतिफल भने प्राप्त गर्न सकेको देखिँदैन। सीप विकास तालिम कार्यक्रमलाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउन यसलाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .