ad ad

रोजगार


अचार बेचेरै मनग्य आम्दानी

अचार बेचेरै मनग्य आम्दानी

अचार बनाउँदै तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्मा। तस्बिर : रासस


नेपालखबर
मंसिर २५, २०७९ आइतबार ९:४६, म्याङ्लुङ

सानो घर। सानै परिवार। आर्थिक अवस्था भने कमजोर। बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर। घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार। 

लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन। गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो। 

जीवनका सङ्घर्ष निकै कष्टकर थियो। कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई। तर यतिबेला उनको दिनचर्या फेरिएको छ। देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी भएकी उनलाई यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ छ। 

हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गरिरहेकी उनले घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी गर्न थालेकी छन्।शारीरिक रूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन। गत वर्ष मात्र सुरु गरेको उनको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ। उनले घरायसी प्रविधिबाट अर्ग्यानिक उत्पादन गर्ने गरेकी छन्।

हातमा सीप नहुँदा दिनभर अर्काको काम गर्न जाँदा खानै मुस्किल हुन्थ्यो। छोराछोरी पढाउन निकै मुस्किल हुन्थो।

‘बल हुन्जेल अरुकै काम गरेर जीवन धानेका थियौँ। तर उमेर ढल्किँदै गएपछि र कमजोर भएपछि काम गर्न जान पनि सक्न छाडियो। घर चलाउनै मुस्किल भएको थियाे’, उनका श्रीमान् सूर्यबहादुर विकले भने। 

उनी भन्छन्, ‘तालिमले मलाई सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ। यही अचार उत्पादनले परिवारको सामान्य घर खर्च चलाउँदै आएका छौँ’, उनले  थपे, ‘सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो। बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु। लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ।’ 

छोरा वैदेशिक रोजगारमा छन्। श्रीमान्, बुहारी र उनी घरमा छन्। व्यवसाय सञ्चालनमा उनलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन्। उनको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो रु एक हजारमा बिक्री गर्ने गरेका छन्। परिवारको साथ सहयोगसँगै व्यवसाय गरिरहेकी उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छन्। 

मेलिना अचार उद्योग स्थापना गरी उनले गाउँमै व्यवसाय गरिरहेकी छन्। खासगरी अकबरेको अचार उत्पादन गरिरहेकी छन्। अचार उद्योगमा उनका श्रीमान् सूर्यबहादुरले साथ दिने गरेका छन्। सूर्यबहादुर भन्छन्, ‘सुरुका दिनमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो। तर यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ। बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन।’

अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन। ग्राहकले फोनबाटै माग गर्छन्। ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई। जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म अचार निर्यात गरिरहेकी छन्। 

अकबरेमात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ। अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन। विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेका तालिम खासै उपयोगमा आएका देखिँदैनन्। आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोजगार बन्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् - वासुकला। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .