ad ad

कला


चुनावी मैदानमा कलाकार : कसको प्रतिस्पर्धी को?

रेखा, सिते बा र सञ्जय हेभिवेट नेतासँग भिड्दै
चुनावी मैदानमा कलाकार : कसको प्रतिस्पर्धी को?

आगामी निर्वाचनमा उठ्न तयार कलाकारहरु


राधिका अधिकारी
असोज २५, २०७९ मंगलबार ११:४०, काठमाडौँ

दर्जन बढी कलाकार आगामी मंसिर४ मा हुने संसदीय निर्वाचनमा होमिएका छन्। 

देशका विभिन्न निर्वाचन क्षेत्रबाट उठेका कलाकारहरु चर्चित र हेविवेट नेताहरुसँग प्रतिस्पर्धा गर्दैछन्। 

केही कलाकारले विभिन्न दलको प्रतितिनिधित्व गर्दै उम्मेदवारी दर्ता गरेका छन्। स्वतन्त्र 

उम्मेदवारी दर्ता गर्ने कलाकार पनि छन्। 

अभिनेत्री रेखा थापाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिकमा सक्रिय थापाले आफ्नो उम्मेदवारीलाई युवाहरुको विद्रोहका रुपमा लिन आग्रह गरेकी छन्। 

मोरङ क्षेत्र नम्बर ३ बाट उठेकी रेखाले नेकपा एमालेका भानुभक्त ढकाल र कांग्रेसका उम्मेदवार एवम् मेडिकल व्यवसायी डा.सुनिल शर्मासँग प्रतिस्पर्धा गर्नेछिन्। 

गायिका कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट टिकट पाएकी  छन्। यसअघि राष्ट्रियसभामा रहेकी उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्षको टिकट दिएका हुन्। यो क्षेत्रबाट कांग्रेसले दीपक गिरी र राप्रपाले ओजबहादुर खड्कालाई उठाएको छ। 

चलचित्र निर्देशक मनोज पण्डितले काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले एमाले नेता गोकुलप्रसाद बाँस्कोटा र कांग्रेसका शिवप्रसाद हुमागाँईसँग प्रतिस्पर्धा गर्ने छन्। 

लामो समयदेखि काभ्रेमा चुनावी प्रचार गरिरहेका पण्डितले गोकुल बाँस्कोटाको पराजय नै आफ्नो उद्धेश्य भएको बताउँदै आएका छन्। 

काठमाडौं क्षेत्र नम्बर ६ बाट गायक सञ्जय श्रेष्ठले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यही क्षेत्रबाट कांग्रेसले भीमसेनदास प्रधान र एमालेले सर्वेन्द्र खनाललाई उठाएको छ। 

अर्का कलाकार मुधुसुदधन पाठक ‘सिते बा’ले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। 

पाठकले काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेसका प्रदीप पौडेल, एमालेका  ईश्वर पोखरेल र राप्रपाका डा. रामप्रसाद उप्रेतीसँग प्रतिस्पर्धा गर्नुपर्ने  छ। विवेकशील–साझाकी पूर्वनेतृ रञ्जु दर्शनाले यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी छन्।

कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका हुन्। हिमेशले यो क्षेत्रमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र एमालेका भूमि त्रिपाठीसँग प्रतिस्पर्धा गर्दैछन्।

निर्माता तथा कलाकार रोज राणाले प्यठान १ ‘ख’बाट प्रदेश सभातर्फ उम्मेदवारी दिएका छन्। उनले प्रदेश सदस्य सभा सदस्यका लागि नेपाली कांग्रेसबाट टिक पाएका हुन्। 

चलचित्र वितरक करण श्रेष्ठ ‘क्रेजी’ले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश ‘ख’बाट श्रेष्ठले समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवारी दिएका हुन्। वितरक श्रेष्ठ साइकलमा नेपाली झण्डा फहराउँदै उम्मेदवारी दर्ता गर्न पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .