कला


दृष्टिविहीनलाई सघाउन गायिका प्रिति आले सडकमा

दृष्टिविहीनलाई सघाउन गायिका प्रिति आले सडकमा

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १६:५०, पोखरा

गएको कात्तिकतिर काठमाडौंको सडकमा गीत गाएर जीवनयापन गर्ने दृष्टिविहीनहरूलाई खेदियो। सहर सुन्दर बनाउने नाममा महानगरले उनीहरुलाई खेदेको थियो।

दृष्टिविहीनहरुमाथि गरिएको दुर्व्यवहारका कारण काठमाडौंका मेयर बालेन साह आलोचित बने। उनको मानवीय संवेदनामाथि प्रश्न उठ्यो। दृष्टि गुमाएकाहरुको सहारा सडक हुने गरेको छ।

काठमाडौंमात्र नभएर देशका अन्य सहरहरुमा पनि दृष्टिविहीनहरु सडकमा गाइरहेका भेटिन्छन्। पोखरा अपवाद रहने कुरै भएन।

पोखराको मुख्य सडकका पेटीहरुमा उनीहरु बिहानैदेखि विभिन्नखाले राग अलापिरहेका हुन्छन्। सक्नेले दुईचार पैसा दिन्छन्। नसक्ने र मन नहुनेहरु त्यही पेटीबाट बाटो लाग्छन्।

उनीहरु के खान्छन्, कहाँ बस्छन्, उनीहरुको ब्यथा के हो? कमैले मात्र चासो राख्छन्। 

तर, सबैको हकमा यो कुरा लागू हुँदैन। लामा अमृत फाउण्डेसन घान्द्रुक नामक संस्था अपवाद बनेको छ। उसकै अगुवाइमा पोखराको विभिन्न ठाउँमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहीनहरुले आर्थिक सहायता  पाएका छन्।

सहयोगदाता तेजबहादुर गुरुङ, अभियन्ता तथा गायिका प्रीति आले र फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले २२ जना दृष्टिविहीन नागरिकलाई प्रतिव्यक्ति ६ हजार ५ सयका दरले (१ लाख ४३ हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

 

सहयोगदाता तेजबहादुर गुरुङका अनुसार दृष्टिविहीनहरुको पीडा कम गराउन यो सहयोग गरिएको हो।  

लोकदोहोरी गायिका प्रीति आले मगरले सडकमा कला प्रदर्शन गरेर दैनिकी गुजारा गर्नु आफैँमा उदाहरणीय कार्य भएको र उनीहरुलाई सघाउनुपर्ने धारणा राखिन्।

‘तपाईंहरुले सडकमा माग्न बसेको होइन’, उनले भनिन्, ‘कला प्रदर्शन गर्नुभएको हो। यस्तो अवस्थामा केही सहयोग गरेर साथ दिन पाउँदा हामी एकदमै खुशी छौं।’

दृष्टिविहीन नागरिकको तर्फबाट बोल्दै हेमबहादुर परियारले राज्य र संघसंस्थाबाट उचित सहयोग नपाएको गुनासो गरे। सडकमा गीत गाउनु रहर नभइ बाध्यता रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad