कला


काठमाडौँमा आज ‘नेपथ्य लाइभ कन्सर्ट’

काठमाडौँमा आज ‘नेपथ्य लाइभ कन्सर्ट’

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०७९ शनिबार ७:४२, काठमाडौँ

मानवता प्रवर्द्धनका लागि महिनाव्यापी रूपमा आयोजना गरिएको सङ्गीत यात्राको अन्तिम कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’ आज  शनिबार काठमाडौैँमा हुँदै छ।

काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा शुक्रबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उक्त कन्सर्टको तयारीबारे जानकारी गराइएको हो। नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङसँगको चियापान तथा भेटघाट कार्यक्रममा आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले अन्य नौ सहरमा भव्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रमअन्तर्गत शनिबार भृकुटीमण्डपमा हुने अन्तिम कन्सर्टमा मुलुकका विशिष्ट व्यक्तिसहित झण्डै ६ हजार दर्शकको उपस्थिति रहने जानकारी दिए। कार्यक्रमको तयारी करिब-करिब सकिएको पनि उनले बताए। 

उनले सङ्गीतमार्फत मानवता प्रवर्द्धन गरी सडक आश्रित बेसहारा व्यक्तिहरूलाई सडकको चिसो छिँडी र सडकपेटीमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने सङ्गीत अभियान चलाइएको जानकारी दिए। 

उक्त समारोहमा नेपथ्य ब्यान्डका प्रमुख गायक अमृत गुरुङले आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने बताए। उनले धन हुनेसँग भन्दा मन हुनेसँग मानवता रहेको उल्लेख गर्दै काम गर्नेहरूलाई प्रश्न उठ्ने भएकाले कसैले प्रश्न गर्दैमा नहिच्किचाइकन अभियान अघि बढाउन आग्रह गरे। 

समारोहमा आश्रमका संरक्षक तथा समाजसेवी राधिका शाक्यले आश्रमको भवन निर्माणका लागि नागर्जुनमा जग्गा प्राप्त भएकाले छिटोभन्दा छिटो भवन निर्माण सम्पन्न गरी काठमाडौँका सडक आश्रित मानवहरूको व्यवस्थापन अति जरुरी रहेकाले सम्बद्ध निकायको ध्यानाकर्षण गराइन्। 

उनले रानीवनको भवनमा सुकुमवासी राख्नुपर्नेमा आश्रम राखिएको भनेर केही आलोचना सुनेको स्मरण गर्दै भनिन्, “ती सुकुमवासीभन्दा पनि यहाँ बस्ने मानिस झन् सुकुम्वासी हुन् जसको कोही छैन, जसको केही छैन, उनीहरू छन्।” उनले स्वच्छ मनले काम गर्दा पनि कतिपय मानिस आआफ्नै स्वार्थमा लागेर अनावश्यवक बखेडा निकाल्नु राम्रो नहुने बताइन्। 

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव डा मानबहादुर बीकेले आश्रमले विसं २०८२ सम्ममा सडक आश्रित मानवमुक्त देश बनाउने लक्ष्य लिएकाले त्यो लक्ष्य पूरा भयो भने नेपाल विश्वमै मानवीयताको पहिलो देश हुने बताए। उनले अहिले मानवताका लागि सङ्गीत भनेर जुन सङ्गीत यात्रा भइरहेको छ, यसले सङ्गीतमार्फत मानवता प्रवर्द्धनमा एउटा नयाँ सिद्धान्त निर्माण भएको प्रतिक्रिया दिए। 

आश्रमका प्रमुख संरक्षक डा गोविन्द टन्डनले परोपकारी नेपालीको साथ र सहयोगले नै नमुना काम गर्न सकिन्छ, विदेशीको बाटो हेरिरहनुपर्दैन भन्ने उदाहरण आश्रमले प्रस्तुत गरेको जानकारी दिए। 

कार्यक्रमका सहभागीले सरकारले गर्नुपर्ने काम आश्रमले गरिरहेकोमा प्रशंसा गरेका थिए। समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलिया, सरकारका सहसचिव जीतेन्द्र बस्नेत, बागमती सफाइ अभियन्ता डा राजु अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, आश्रमका अभिभावक सुरेशमान श्रेष्ठलगायतले सडक आश्रित मानव तथा बेसहाराको उद्धार र संरक्षण गर्ने दायित्व सबैको भएको बताए। उनीहरूले आश्रमले थालेको अभियानमा साथ दिन पनि अनुरोध गरे। 

महिनाव्यापी उक्त कार्यक्रमको सुरुआत मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट भएको थियो। मङ्सिर १९ गते वीरगन्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगन्जको रङ्गशाला, पुस ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम भएको थियो। अभियानको अन्तिम कार्यक्रमका रूपमा आज १६ गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो। 

विसं २०६९ मा स्थापना भई सडकका असहाय तथा बेवारिसे नागरिकको उद्धार अभियान थालेको आश्रमले हालसम्म झण्डै आठ हजार नागरिकलाई सडकबाट उद्धार गरिसकेको छ। हाल एक हजार ६ सय सडक आश्रित मानव आश्रमका विभिन्न शाखामा संरक्षित छन्। झण्डै एक हजारलाई परिवारमा पुनर्मिलन गराइसकेको छ। 

देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गरिरहेको आश्रमले आगामी विसं २०८२ सम्ममा मुलुकका सडकपेटीमा बेवारिसे मानिस नरहने अवस्था निर्माण गर्ने योजनाका साथ काम गरिरहेको छ। यसपटकको सङ्गीत यात्राको अन्तिम उद्देश्य पनि विसं २०८२ सम्मको लक्ष्य पूरा गर्नु रहेको जनाइएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad