निर्देशक दीपेन्द्र के खनाल नयाँ फिल्म निर्माणको तयारीमा छन्। उनी आफ्नो हिट फिल्म ‘पशुपति प्रसाद’को स्पिनअफ निर्माणको तयारीमा लागेका हुन्। फिल्म फागुन १२ गतेदेखि छायांकन गर्ने तयारी छ।
‘पशुपति प्रसाद’को क्यारेक्टर ‘भष्मे डन’ नामको फिल्ममा विपिन कार्की शीर्ष भूमिकामा देखिने छन्। उनीसँगै सौगात मल्ल, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे फिल्ममा जोडिइसकेका छन्।
फिल्मका लागि अभिनेत्री भने अहिलेसम्म छानिएको छैन। प्रमुख अभिनेत्री छानिएपछि कलाकारको लाइनअपले पूर्णता पाउने छ। यो फिल्मको शीर्ष अभिनेत्रीका लागि अहिले तीन अभिनेत्रीको नाम चर्चामा छ।
स्वस्तिमा खड्का, सुरक्षा पन्त र वर्षा शिवाकोटीमध्ये एक फिल्मको शीर्ष भूमिकामा देखिने चर्चा छ। यी तीनै नायिकासँग दीपेन्द्रले विभिन्न फिल्ममा सहकार्य गरिसकेका छन्। वर्षाले ‘पशुपति प्रसाद’मै दीपेन्द्रसँग सहकार्य गरेकी थिइन्।
सुरक्षाले ‘आमा’ फिल्ममा र स्वस्तिमाले ‘चिसो मान्छे’मा दीपेन्द्रसँग सहकार्य गरिसकेका छन्। अन्य नायिकाको दाँजोमा सुरक्षा दीपेन्द्रको प्रिय अभिनेत्रीभित्र पर्ने फिल्म उद्योगमा चर्चा हुने गरेको छ। यी तीन अभिनेत्रीमध्ये कसलाई लिएर ‘भष्मे डन’ अगाडि बढउँछन् भन्ने चर्चा फिल्मी बजारमा सुरु भएको छ।
‘भष्मे डन’ निर्माणमा दीपेन्द्रसँग खगेन्द्र लामिछानेले सहकार्य गर्ने भएका छन्। फिल्मको पटकथा पनि लामिछानेले लेखेका हुन्। ‘भष्मे डन’ले पशुपति प्रसाद रिलिजपछिको संघर्ष र यात्राको कथा भन्ने छ।
Shares

प्रतिक्रिया