कला


भारतीय निर्देशक द्विवेदी भन्छन्- आगामी दुई चलचित्रको अडिसन नेपालमा लिन्छु

भारतीय निर्देशक द्विवेदी भन्छन्- आगामी दुई चलचित्रको अडिसन नेपालमा लिन्छु

रासस
चैत २०, २०७९ सोमबार १३:१५, काठमाडौँ

‍भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताएका छन्। 

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उनले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने बताए। 

'भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्', उनले भने, 'तर नेपाली कलाकारको सङ्ख्या न्यून छ, जबकी हामीबीचको भाषा र संस्कृति धेरै हदसम्म मिल्छ।' 

अभिनेता तथा लेखक समेत रहेका डा द्विवेदीले आफूले निर्माण गर्ने आगामी दुई चलचित्रको अडिसन नेपालमा गर्ने बताए। ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने उनको भनाइ थियो। 

उनले धेरै समयअघि भारतीय अभिनेता अमिताभ बच्चनलाई नेपालमा ल्याएर सुटिङ गर्ने योजना बनाएको स्मरण गरे। 'अमिताभ बच्चनलाई सुटिङ गराउन नेपाल ल्याउनका लागि केही लोकेसन पनि हेरेँ, तर विमानस्थलको भीडले छायाङ्कन गर्न सकिन्न कि भन्ने लाग्यो', उनले भने, 'अहिले आएर म गलत थिए कि भन्ने लागिरहेको छ।'

उनले आफू सन् २००४ मा नेपाल आएको र चितवनबारेमा भारतीय चलचित्रमा उल्लेख गरेको बताए। डा द्विवेदी निर्देशित सन् १९९१ मा प्रशारण भएको टेलीशृङ्खला ‘चाणक्य’बाट चर्चा कमाएका थिए। चाणक्यमा उनले लेखन तथा अभिनय समेत गरेका थिए। अन्तरक्रियामा उनले चलचित्रसम्बन्धी तीन दशक लामो अनुभवका विषयमा चर्चा गरेका थिए।

अन्तरक्रियामा अभिनेता राजेश हमाल, अभिनेत्री सुरक्षा पन्त, निर्देशक कुमार भाष्कर, नरेश पौडेल, पुर्नेन्दु झाका साथै अभिनेता कमलमणि नेपाल, भोलाराज सापकोटा, लेखक समीप्याराज तिमल्सेनालगायतको उपस्थिति थियो। 

अभिनेता हमालले निर्देशक द्विवेदीलाई नेपालमा स्वागत गर्दै भारतीय चलचित्रको विषयमा चर्चा गरे। 'नेपालमा चलचित्रकै माध्यमबाट केही मात्रामा भए पनि हिन्दी भाषा बुझ्नेहरु हुनुहुन्छ', उनले द्विवेदीलाई भने, 'तपाईंहरुको कामको यहाँ पनि चर्चा हुन्छ।' हमालले चलचित्रका माध्यभबाट नेपाली र भारतीय कलाकार जोडिएको भनाइ व्यक्त गरे। 

निर्देशक डा द्विवेदीले चलचित्र पिञ्जर, जेड प्लस, मोहल्ला अस्सी, सम्राट पृथ्वीराज र टेलीशृङ्खला मृत्युञ्जय, एक और मोहब्बत, उपनिषद गङ्गा, सुराज्य संहिताको निर्देशन गरेका छन्। उनले सन् २०२२ मा प्रदर्शन भएको भारतीय चलचित्र ‘राम सेतु’ मा अभिनेता अक्षय कुमारसँग निर्माणमा सहकार्य गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad