कला


छोरा काखमा हुँदा पनि खुसी हुन नसकेकी प्रमिला

छोरा काखमा हुँदा पनि खुसी हुन नसकेकी प्रमिला

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १२:४७, काठमाडौँ

अभिनेत्री प्रमिला खनाल पोखरामा जन्मिएकी हुन्। उनले आफ्नो बाल्यकालमा हुक्का देखेकी थिइन्। त्यतिबेला कोइला बालेर तमाखु भरी धुँवा तान्ने भाडालाई हुक्का भनिन्थ्यो। वास्तविकता पनि त्यही थियो।

आगामी जेठ १२ गते रिलिज हुने फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’मा शिर्ष भूमिकामा रहेर अभिनय गरेकी छिन्। प्रमिलाले यो फिल्ममा अभिनय गरेपछि बल्ल हुक्काको अर्थ बुझेकी छिन्।

प्रमिलाले हुक्काका बारेमा भनिन्, ‘हुक्कालाई मैले हेर्दा सामान्य कोइला बालेर तमाखु भरी धुवाँ तान्ने भाडाका रुपमा सम्झन्थेँ। हुक्कालाई समाजमा प्रतिष्ठाको विषय मानिँदो रहेछ भन्ने सुनेको थिएँ। तर यो फिल्ममा काम गरेपछि त्यो भ्रम मात्र रहेछ भन्ने थाहा पाएँ।’

फिल्म ‘दबाब’बाट अभिनय यात्रा सुरु गरेकी प्रमिलाले त्यसयता उनले धेरै फिल्ममा सहायक चरित्र निभाइन्। फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’मा भने उनले शिर्ष भूमिकामा अभिनय गरेकी छिन्।

प्रेमिला यो फिल्ममा साहसी र निडर महिलाको भूमिकामा देखिने छिन्। प्रमिलाले ‘हुक्कामा आफूले निर्वाह गरेको भूमिकाका बारेमा भनिन्, ‘सम्बन्ध विच्छेदपछि माइतमै बसेकी एक छोरीकी आमा र गाउँकी मुखियाकी छोरीको चरित्रमा देखिएकी छु।’

प्रमिला यो फिल्ममा लकडाउन पछि जोडिएकी हुन्। लकडाउनमा धेरै समय घरमै बसेकी प्रमिलाले त्यही समयमा ‘हुक्काः एन एब्जर्ड ड्रिम’को स्क्रिप्ट पढिन्।

‘मेरो चरित्रसँगै फिल्मले देखाउन खोजेको विषयवस्तु पनि मन पर्यो। अर्को कुरा सबै सुटिङ पोखरामानै हुने भएपछि म यो फिल्ममा जोडिएँ’ उनले फिल्मसँग जोडिँदाको सम्झना सुनाइन्, ‘कोरोनाले सुनसान बनेको काठमाडौबाट केही समय टाढा बसेर काम गर्ने मौका पाएकी थिएँ। त्यो मौकालाई गुमाउन चाहिनँ। त्यो समय सुटिङ गर्न जाँदैछु भन्दा पनि केही सिक्न र आफूलाई फ्रेस बनाउन जाँदैछु भन्ने थियो।’

प्रमिलाको बुझाईमा ‘हुक्काः एन एब्जर्ड ड्रिम’ले समाजकै कथा बोल्छ। उनले ट्रेलरमा देखाइएका विषयवस्तु समाजसँग ‘रिलेट’ गर्ने भएकाले पनि फिल्म राम्रो बनेको दाबी गरिन्।

प्रमिला यो समय मातृत्वकालको अनुभव लिइरहेकी छन्। गत वैशाखमा उनी छोराको आमा भइन्। फिल्ममा पनि उनले एउटी छोरीकी आमाको चरित्र निभाएकी छन्।

‘फिल्मले एउटी आमाको छोरी प्रतिको दावित्व, कर्तव्य र सम्बन्ध निकै प्रगाढ देखाएको छ। अहिले म पनि वास्तविक जीवनमा आमा बनेकी छु। सन्तानसँग एउटी आमाको सम्बन्ध अविस्मरणीय हुँदो रहेछ’ प्रमिलाले भनिन्, ‘अहिले छोरालाई बढी समय दिइरहेकी छु। यही बेला फिल्म रिलिज हुने भएकाले फिल्मको प्रमोसनमा हिँड्न नपाउँदा दुःख लागेको छ।’

‘हुक्काः एन एब्जर्ड ड्रिम’लाई प्रमिला ‘लोकल चामल’ मान्छिन्। उनी आम नेपालीलाई ‘लोकल चामल’को स्वाद थाहा भइरहेको बेला यो फिल्मले त्यो स्वाद दिनेमा ढुक्क छिन्।

‘हुक्काः एन एब्जर्ड ड्रिम’मा त्यही देखाउन र चखाउन खोजिएको छ। हामीले कुनै भयङ्कर फरक र डरलाग्दो विषय पनि उठाएका छैनौं। तर जे भन्न र देखाउन खोजेका छौं त्यो चाहिँ फरक तरिकाले देखाउने प्रयास गरेका छौं’ प्रमिलाको बुझाई छ।

शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रमिलासँगै, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ।

रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्। फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .