सुदूरपश्चिममा पर्ने प्राकृतिक तथा आध्यात्मिक ठाउँ खप्तड क्षेत्रमा छायांकन गरिएको गीत सार्वजनिक भएको छ।
शुक्रबार नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापा, पूर्वपर्यटन मन्त्री प्रेम आले, राष्ट्रिय सभा सदस्य महेश महरा, सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय पदम शाही र शिवसिंह वलीको उपस्थितिमा गीतको विमोचन गरिएको हो।
गीतका विषयमा बोल्दै प्रमुख अतिथि थापाले पर्यटन प्रवर्द्धनमा यसले योगदान गर्ने बताए। उनले भने, ‘सिर्जनशील उपाय अपनाएर युवा साथीहरुले बनाएको गीतबाट त्यो क्षेत्रको सौन्दर्य र महत्व फैलिने विश्वास लिएको छु।’
पूर्वपर्यटनमन्त्री आलेले त्यसैका लागि बनाइएको सरकारी संरचनाले यस्ता विषयमा ध्यान दिनुपर्ने बताए। उनले भने, ‘साथीहरुले गरेको काम हेरें। मलाई सरकारबाट सहयोग भएको होला भन्ने लागेको थियो तर आफैंले गर्नुभएको रहेछ। यस्ता सिर्जनशील उपायबाट प्रचार गर्ने काममा सरकारले हातेमालो गर्नुपर्छ।’
सुगम संगीतका चर्चित गीतकार तथा संगीत दीपक शर्माको शब्द र संगीत रहेको गीतमा स्वर डेभिड शंकर र वेनिशा पौडेलको छ। पर्यटकीय क्षेत्र खप्तडलाई सुटिङका लागि समेत उपयुक्त ठाउँका रुपमा प्रस्तुत गर्न खोजिएको म्युजिक भिडियो निर्माण संयोजनसमेत गरेका कलाकार सनम कठायतले जानकारी दिएका छन्।
डोटी घर भएका कलाकार कठायतले आफ्नो क्षेत्रलाई प्रवर्द्धनका लागि अभियानका रुपमा यसपटक खप्तडमा केही गीत सुटिङ गरिएको बताए। उनले भने, ‘हामीले आफ्नो कर्तव्य ठानेर यसपल्ट सुटिङ स्पट खप्तड रोज्यौं। अभियानमा बझाङको खप्तड छान्ना गाउँपालिका, कार्की क्रियसनलगायतले सघाएका छन्।’
यो गीतम कठायतसँगै निशा कार्कीको अभिनय देख्न पाइन्छ।
गीत निर्देशन खप्तड क्षेत्र फैलिएको अर्को जिल्ला बाजुरा घर भएर अहिले पत्रकारिताका साथै देउडा गीत लेखन र म्युजिक भिडियो निर्देशन समेत गरिरहेका डिबी खड्काले गरेका छन्। क्रियटिभ निर्देशक जनक सिंह, सिनेमाटोग्राफर दीपक गिरीलगायत पनि सुदूरपश्चिमबाटै आएर नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्ति हुन्। म्युजिक भिडियो सम्पादन विकास दाहालले गरेका छन्। गीत युट्युबमा ‘कार्की क्रियसन’बाट सार्वजनिक भएको छ।
Shares

प्रतिक्रिया