नेपाली चलचित्र ऐँचो पैँचोको ट्रेलर सार्वजनिक भएको छ।
सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा राजनीतिक कथावस्तुलाई देखाइएको छ।
राजनीतिक कथावस्तुमा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ। कृषा चौलागाईंद्वारा निर्देशित यो फिल्मको ट्रेलरमा अभिनेत्री स्वस्तिमा भोटका लागि हात जोड्दै पर्चा बाँडिरहेको देख्न सकिन्छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सांसद प्रेम आलेले अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको बताए। उनले आफू पनि फिल्ममा रहेको भए राजनीतिक विकृतिहरु प्रष्ट्याउने भन्दै चलचित्र राजनीतिक कथावस्तुमा राम्रो बनेको बताए।
उनले भने, ‘यो फिल्म राजनीति सम्बन्धीका कुराहरु रहेछन्, खुशी लाग्यो। अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको छ। यो फिल्ममा सबैले धेरै मेहनत गर्नुभएको छ। यसमा मलाई पनि राखेको भए राजनीतिमा भएका सत्य कुराहरु बोल्थेँ।’
कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिकर्मीहरुले फिल्मको पत्रकार सम्मेलनमा मात्रै नभइ हल गएर चलचित्र हेर्नुपर्ने बताइन्। उनले फिल्म लेखकलाई उचित पारिश्रमिक नदिने गरेकोप्रति असन्तुष्टि जनाइन्।
उनले भनिन्, ‘राजनीतिमा रहनुभएकाहरुले फिल्म पनि हेर्नुपर्छ, प्रेस मिट मात्रै होइन, उहाँहरुले नदेख्नुभएको कुरा हामीले लेन्सबाट देखाउन सक्छौँ। फिल्म लेखकलाई राम्रो परिश्रमीक नदिने गरिएको छ। अहिले पछिल्लो समय केही हदसम्म दिने गरिएको छ।’
फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन्। भदौको १४ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ।
Shares

प्रतिक्रिया