‘काठमाडौं कलिंग साहित्य महोत्सव’को दोस्रो दिन, ‘ममता र मानव सेवा’ विषयमा अन्तर्क्रिया भएको छ। महिला र बालबालिकाका विभिन्न आयामहरुबारे शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामाङ, पवित्र नेपालकी संस्थापक दीक्षा चापागाईं र रक्षा नेपालकी संस्थापक मेनुका थापाबीच अन्तर्क्रिया भएको हो।
अध्यक्ष चरिमाया तामाङले मानव र सेवा मानिसले जन्मजातै लिएर आएको भन्दै विभिन्न देशमा देह व्यापारका लागि बेचिएका महिला तथा बालबालिका उद्धार गर्दाको क्षण स्मरण गरिन्।
उनले भनिन्, ‘हामीलाई सन् १९९६ मा भारतका विभिन्न देह व्यापापार गर्ने कोठीबाट उद्धार त गरियो तर हाम्रो बिजोग भयो। उद्धार गरिएकामध्ये भारत र बंगलादेशमा महिलाहरु तुरुन्तै उनीहरुको देशले लग्यो तर नेपालका २ सय ६८ जना महिलाको बिचल्ली भयो।
६ महिनासम्म ओछ्यान नदेखेको बताउँदै उनले भनिन्, ‘कपडासमेत ६ महिनासम्म एउटा मात्रै लगाइयो।’
नेपालमा नागरिकता नबनेका कारण अर्को समस्या थपिएको उनको भनाइ छ।
नेपाली भाषा बोल्दैमा नेपाली हुँदैन भनेर देशले नागरिक मान्न इन्कार गरेको उनले बताइन्।
विगत सम्झँदै उनले भनिन्, ‘नेपालका उच्च ओहोदाका मानिसहरुले यिनीहरु बिग्रिएका मानिसहरु हुन्, एड्सका पोकाहरु हुन्, यिनीहरुलाई नेपाल लगे एड्सको डम्पिङ साइट बन्छ भन्नेसम्म भन्थे।
त्यस्तै, पवित्र नेपालकी संस्थापक दीक्षा चापागाईंले मानव सेवा र ममतालाई दुई आँखाको नानी मानेको बताइन्। आमाको कोखबाट ममता सुरु हुने भन्दै उनले आफू अहिले धेरै मानिसको आमा बन्न पाउँदा खुशी लागेको बताइन्।
जन्म नदिए पनि आमाको ममता दिन पाउँदा भाग्यमानी ठानेको उनी बताउँछिन्। आमाबुबा सानैमा गुमाएका बालबालिकाको आमा अर्को जुनीमा पनि बन्न पाउँ भन्ने कामना गरिन्।
त्यस्तै, रक्षा नेपालकी संस्थापक मेनुका थापाले ममता र मानव सेवा एक अर्काको परिपूरक रहेको बताइन्। उनले भनिन्, ‘हामी पनि यही समाजको उपज हो। कमीकमजोरी सबैसँग छ तर समाज सेवालाई यहि समाजले नै समस्या पारिरहेको छ।’
कुपण्डोलमा रहेको हिमालय होटलमा जारी महोत्सव भोलि आइतबारसम्म चल्नेछ।
Shares

प्रतिक्रिया