छायांकरत नेपाली फिल्म ‘रावायण’ मा रहेका तीन गीतको भारतमा रेकर्ड गरिएको छ। फिल्मको शीर्ष गीतसहित रोमान्टिक आइटम गीत रेकर्ड गरिएको हो।
शीर्ष गीतमा भारतीय गायक नकासा अजीजको स्वर छ। नकासाले बलिउड फिल्म ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी जान’ र ‘उचाइँ’को ‘केटी को’ जस्ता गीतमा स्वर दिइसकेका छन्।
त्यस्तै रोमान्टिक गीतमा कुनाल गान्जावालाले स्वर भरेका छन्। कुनालले बलिउड फिल्म ‘पार्टनर’को ‘दुपट्टा तेरा’, ‘शीसा’को ‘यार को मेने’, ‘काल’को ‘काल धमाल’, ‘धुम’को ‘सलामे’लगायतका चर्चित गीत गाइसकेका छन्।
सोनु कक्करले ‘रावायण’का लागि आइटम गीत गाएकी हुन्। सोनुले गाएका बलिउड फिलम ‘दम’ को ‘बाबु जी जरा धिरे चलो’, ‘ब्लू’को ‘ब्लू थिम’, ‘जिष्म २’ को ‘ये कसुर’, ‘क्वीन’ को ‘लण्डन’ लोकप्रिय छन् ।
तीनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत छ। संगीतकार रेवन भारतमा रुचाइएका संगीतकार, गायक, गीतकार, ब्याकग्राउण्ड स्कोरर, वाद्यवादक हुन् ।
भारतीय चर्चित संगीतकार कैलाश खेरको स्टुडियो कैलाश खेर स्टुडियोका संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियर निरज २० वर्ष बढी समयदेखि बलिउडमा संगीत क्षेत्रमा सक्रिय छन्।
नेपालमा संगीत तयार पारेर भारतमा गएर गीत रेकर्ड गर्ने चलन भइरहँदा आफूले सबै काम भारतमा नै गरेको निर्देशक सुदर्शन थापाले बताए।
‘अहिलेसम्म नेपालमै संगीतको सबै काम सकेर भारतमा गई गीत रेकर्ड गराउने चलन थियो। तर हामीले मिक्सिङ, मास्टरिङदेखि संगीतका सबै काम भारतमा नै गरेर भारतीय गायकगायिकमार्फत गीत रेकर्ड गरेका हौं। जसले गर्दा संगीतको गुणस्तर पनि उत्कृष्ट हुन्छ’, उनले भने ।
यस फिल्ममा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाललगायतको अभिनय छ ।
फिल्ममा शिवम अधिकारीको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन छ। फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
Shares

प्रतिक्रिया