वरिष्ठ गीतकार तथा लेखक टेक तामाङद्वारा रचित ‘स्वर्गझैँ सैलुङ’ शीर्षकको अर्को म्युजिक भिडिओ बजारमा आएको छ। उक्त भिडिओ केही दिनअघि सार्वजनिक भएको हो।
तामाङ सेलोको लयमा आधारित उक्त युगल गीतमा प्रह्लाद तिमिल्सिना र सुमिना लोको आवाज रहेको छ। आलोक श्रीको सङ्गीत रहेको यो म्युजिक भिडिओ ‘प्रह्लाद तिमिल्सिना अफिसियल’ युट्युब च्यानलमार्फत बाहिर आएको हो।
गीतको अरेन्ज आदेश गुर्मछनले गरेका हुन् भने मिक्सिङ एन्ड मास्टरिङ सुशील विक्रम शाहको रहेको छ। गुन्जन रेकर्डिङ स्टुडिओमा गीत रेकर्ड गरिएको हो।
निसल पौडेलको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडिओ युवराज वाईबाले निर्देशन गरेका हुन्।
मेकअप सविना गुरुङको रहेको छ भने प्रोडक्सन डिजाइन लोमुस पौडेलले गरेका हुन्को।
प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको यस म्युजिक भिडिओमा समीर तामाङ र अम्बिका तामाङको अभिनय हेर्न सकिन्छ।
प्रायजसो देशभक्ति र वीर रसले भरिएको गीतहरू सिर्जना गर्ने तामाङले यो पटक भने प्रेम रसले भरिएको रोमान्टिक गीत पस्केका छन्।
सुन्दर हिम शृङ्खलाहरूलाई पृष्ठभूमि बनाएर छायांकन गरिएको भिडिओमा तामाङ समुदायको भेषभूषा, लवज र परिवेशलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ।
आफ्नै साथीभाइ, विशेषगरी संगीतकार किशोर खतिवडाको प्रेरणा र आफ्नै रुचिका कारण साहित्य सेवा अनि जागरणका निम्ति कलम चलाउने गरेको बताउने एआईजी तामाङले हालसम्म स्वदेश, जीवनसाथी, आमा र नाता गरी चार गीति संग्रह लगायत सयभन्दा बढी गीत सार्वजनिक गरिसकेका छन्।
इमेज अवार्ड र सगरमाथा म्युजिक अवार्ड जितिसकेका तामाङको पुस्तकतर्फ माटोको आवाज, नेपाल आमा र भक्ति सागर लगायतका कृति प्रकाशित छन्।
भिडिओ-
Shares

प्रतिक्रिया