कला


डिभोर्सबारे एलिना चौहानः मेरोजस्तो आमाबाउ नेपालमा सबै छोरीको होस्

‘व्यक्तिगत कुरालाई मजाकको विषय नबनाउनुहोला, आफ्नो छोरीचेली सम्झिनुहोला’
डिभोर्सबारे एलिना चौहानः मेरोजस्तो आमाबाउ नेपालमा सबै छोरीको होस्

गायिका एलिना चौहान


नेपालखबर
माघ १९, २०८१ शनिबार १३:३३, काठमाडौँ

पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद (डिभोर्स) का लागि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएकी गायिका एलिना चौहानले आफ्नो ‘पर्सनल लाइफ’बारे पहिलोपटक मुख खोलेकी छन्।

शनिबार फेसबुक लाइभमा आउँदै गायिका चौहानले दुवै पक्षको छलफल र सहमतिमा सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाइएको बताएकी हुन्। 

‘यो डिसिजनचाहिँ एकदम सोचेर लिएको डिसिजन हो। दुई जनाले सल्लाह गरेर, दुई जनाले कुरा गरेर घरपरिवारबीच कुरा भएर। डिसिजन लेको कुरा हो’, उनले फेसबुक लाइभमा भनेकी छन्, ‘अदालतभित्रको कुरा कसरी बाहिर निस्किन्छ, त्यो मलाई थाहा छैन। कहिलेकाहीँ कति कुराहरूचाहिँ इच्छाभन्दा पनि जरुरी हुँदोरहेछ। गर्नैपर्ने जरुरी हुँदोरहेछ। मनमुटाव हुँदाहुँदै पछि ठूलो दुर्घटना भयो भने झन् नराम्रो हुन्छ नि! अहिले त केही बिग्रेको छैन।’

भिडिओ-

यस क्रममा उनले आफ्ना पति सापकोटालाई गाली नगर्न आफ्ना फ्यानहरूलाई अनुरोध पनि गरेकी छन्। 

‘यो समयमा मलाई कतिले साथ दिन्छु भनेर सोचिरहनुभएको छ भने ठीक छ, साथ दिनूस्’, एलिनाले भनेकी छन्, ‘तर उहाँलाई नराम्रो नभन्नुहोला। उहाँलाई गाली नगर्नुहोला। बरु मलाई गाली गर्नु, केही छैन, जिन्दगीमा कस्तो कस्तो भोगियो, कस्तो कस्तो सहियो, खरानी भइसकेको मान्छेलाई आगोसँग डर हुँदैन।’

यस क्रममा गायिका एलिनाले नेपालका सबै छोरीले आफ्नाजस्तै बुवाआमा पाउन् भन्ने कामना पनि गरेकी छन्। 

उनले भनेकी छन्, ‘मेरोजस्तो आमाबाउ नेपालमा सबै छोरीको होस्। यही मेरो इच्छा छ। यो भन्दा धेरै म केही बोल्न पनि सक्दिनँ। केही बोल्दिनँ पनि।’

यस्तो छ एलिना चौहानले फेसबुक लाइभमा बोलेका पूरा कुरा-

मलाई यो पर्सनल लाइफको कुरामा चाहिँ खासै बोल्न मन लाग्दैनथ्यो। अहिलेसम्म बोलेको पनि थिइनँ। म पहिलोचोटि बोल्दै छु। कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन। झन् बिहे त सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ, हिन्दु संस्कारअनुसार। कुनै पनि बाउआमाले मुटु फुटाएर छोरीलाई कन्यादान दिएर छोरीको डिभोर्स होस् भन्ने चाहँदैनन्। झन् छोरीकोले त चाहँदै चाहँदैनन् के नेपालजस्तो देशमा।

र, यो डिसिजनचाहिँ एकदम सोचेर लिएको डिसिजन हो। दुई जनाले सल्लाह गरेर, दुई जनाले कुरा गरेर घरपरिवारबीच कुरा भएर। डिसिजन लेको कुरा हो। अदालतभित्रको कुरा कसरी बाहिर निस्किन्छ, त्यो मलाई थाहा छैन। कहिलेकाहीँ कति कुराहरूचाहिँ इच्छाभन्दा पनि जरुरी हुँदोरहेछ। गर्नैपर्ने जरुरी हुँदोरहेछ। मनमुटाव हुँदाहुँदै पछि ठूलो दुर्घटना भयो भने झन् नराम्रो हुन्छ नि। अहिले त केही बिग्रेको छैन।

बिहे गर्नुचैँ हतारको डिसिजन थियो। हाम्रो प्रेम विवाह हो। प्रेम सम्बन्ध हुँदा पनि हामीबीच धेरै खटपट हुन्थ्यो। मैले के सोचेँ भने सहन्छु, चुपो लाग्छु, एक न एकदिन सबै ठीक भइहाल्छ नि भन्ने सोचेँ। उहाँले पनि यति सहने केटीसँग मेरो जिन्दगी चल्छ भनेर मसँग बिहे गर्नु भो तर समय बित्दै जाँदा सहन सकिनँ र उहाँले पनि सोचेजस्तो भएन। मैले भनेको जे पनि मान्थिस्, जे पनि गर्थिस्। उहाँका एक्सपेक्टेसन मैले पूरा गर्न सकिनँ।

यो मायाको कुरा गर्दा कस्तो हुँदोरहेछ भने आफूले माया गरेको मान्छेलाई गाली गर्दाखेरि आफूले नै गाली खाएभन्दा पनि अझ धेरै पीडा हुँदोरहेछ। त्यही भएर तपाईंहरूले यो समयमा मलाई कतिले साथ दिन्छु भनेर सोचिरहनुभएको छ भने ठीक छ, साथ दिनूस्। तर उहाँलाई नराम्रो नभन्नुहोला। उहाँलाई गाली नगर्नुहोला। बरु मलाई गाली गर्नु, केही छैन, जिन्दगीमा कस्तो कस्तो भोगियो, कस्तो कस्तो सहियो, खरानी भइसकेको मान्छेलाई आगोसँग डर हुँदैन। त्यही भएर जति गाली गर्न मन लाग्छ, मलाई गर्नु। मेरो जिन्दगी बिगार्ने जिम्मेदार म हो, मैले आफैँ बिगारेको, मैले जानीजानी बिहे गरेको हो। हामीले जानीजानी बिहे गरेको हो। उहाँले पनि म कलाकार हो भन्ने थाहा पाउँदा पाउँदै बिहे गर्नुभको हो। आनीबानी जानेरै बिहे गर्नुभएको हो।

तर पछि नहुने रहेछ, यो भन्दा पनि नजिक नराम्रो स्थितिहरू आउने रहेछ, नराम्रो हुनेहेछ भनेर हामीले राम्ररी कुरा गरेर नै छुटेको हो। दरो पनि कति हुनु म त दरो हुँदाहुँदा के भइसकेँ के, केही समझमै आको छैन कति कुराहरू त। तर पनि आफ्नो जिन्दगीलाई अनुभवहरूबाट सिकेर नयाँ सुरुवात गर्न चाहन्छु, त्यसमा तपाईंहरूले मलाई सहयोग गर्न नसके पनि बाधा नपुर्‍याइदिनुहोला। मेरो नम्बरचाहिँ सबैतिर छरपस्ट भएको छ। मलाई फोन आएको आयै छ। यो कुराले मलाई झन् धेरै गाह्रो भएको छ। उहाँले पनि आफ्नो जिन्दगीको डिसिजन लिने अधिकार छ। मेरो पनि छ। हामी दुईजनाले नै जिन्दगीमा बाँच्ने अधिकार छ।

उहाँलाई यस्तो गरेर केही नराम्रो भइहाल्यो भने त्यो गिल्टले मलाई पनि बाँच्न दिँदैन। मलाई झन् गाह्रो हुन्छ, त्यही भएर उहाँलाई नराम्रो नभन्नु होला। र, मेरोजस्तो आमाबाउ नेपालमा सबै छोरीको होस्। यही मेरो इच्छा छ। यो भन्दा धेरै म केही बोल्न पनि सक्दिनँ। केही बोल्दिनँ पनि। सबै जनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र, यो व्यक्तिगत कुरालाई मजाकको पात्र नबनाउनुहोला। कमाइ खाने भाँडो नबनाउनुहोला। किनभने सबैलाई पर्ने कुरा हो यो। आफ्नो चेली छोरीलाई सम्झिनुहोला। त्यही भएर यो कुरालाई बढाउनुभन्दा पनि यो कुरालाई सबै जनाले इग्नोर गरेर अगाडि बढेको राम्रो हुन्छ। मेरो विचारमा यहाँ केही गलत बोलेँ भने पनि मलाई माफ गरिदिनुहोला। सबैजनालाई म रिक्वेस्ट गर्न चाहन्छु।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad