नेपाली फिल्म वृत्तमा केही यस्ता कलाकार छन्, जो संख्यामा होइन, गुणस्तरमा विश्वास गर्छन्। उनीहरू पर्दामा कम देखिन्छन्, तर जब देखिन्छन्, आफ्नो अभिनयको गहिरो छाप छोडेर जान्छन्। यस्तै एक उम्दा अभिनेत्री हुन्, मेनुका प्रधान। जो बजारको हल्ला र संख्याको दौडबाट पर छिन्। न उनलाई फिल्मको संख्या बढाउनु छ, न हिट/फ्लपसँग चिन्ता छ।
उनलाई आफू नजिकका धेरै मान्छेहरूले भन्ने गर्छन्– ‘यति राम्रो अभिनय गर्छौ, तैपनि किन फिल्म कम गरेको? किन अरु हिरोइनजस्तै चर्चामा नआएको?’
जवाफमा उनी बस् मुस्कुराएर टारिदिन्छन्। उनी आफ्नो जीवन र करिअरलाई एउटा खोलाको प्रवाहसँग दाँज्छिन्, जो आफ्नै गतिमा बगिरहन्छ र बाटोमा जे–जति भेटिन्छ, त्यसैलाई आत्मसात गर्दै अघि बढ्छ।
नेपालखबर सो ‘लेट्स टक’सँगको कुराकानीमा निकै दार्शनिक जवाफ दिँदै उनले भनिन्, ‘मेरो जिन्दगी म बगिरा’छु, खोलाजस्तै।’
करिब डेढ दशक लामो आफ्नो अभिनय यात्रामा मेनुकाले आफूलाई भीडबाट अलग राखेकी छन्। उनी अभिनीत पछिल्लो फिल्म ‘मनसरा’ रिलिजको करिब एक वर्षपछि उनी ‘ताराहरू’ नामक नयाँ चलचित्र लिएर दर्शकमाझ आउँदैछिन्।
भदौ ६ मा रिलिज हुने तयारीमा रहेको फिल्म ‘ताराहरू’सँग जोडिनुको मुख्य कारण उनी यसका लेखक तथा निर्देशक अशान्त शर्मालाई मान्छिन्, जो उनका गुरु पनि हुन्।
‘गुरुको फिल्म भएपछि एकखालको सद्भाव भइहाल्छ, त्यसमाथि जुन खालको स्टोरीलाइन छ अनि जुन क्यारेक्टर उहाँले मलाई भन्नुभयो, त्यसले नै मलाई लोभ्याएको हो,’ उनले भनिन्।

‘ताराहरू’ गरिखाने वर्गको कथा हो। यसको मुख्य पात्र काठमाडौँमा कलाकार बन्ने सपना बोकेर आफ्नी श्रीमतीसँगसँगै संघर्ष गरिरहेको हुन्छ। यो यात्रामा आउने उतारचढाव, मानसिक र भावनात्मक द्वन्द्व र त्यसबाट माथि उठेर जीवनलाई हेर्ने दृष्टिकोण नै चलचित्रको सार हो।
सन् २०१० देखि अभिनय यात्रा सुरु गरेकी मेनुकाले यो क्षेत्रमा करिब १५ वर्ष बिताइसकेकी छन्। यो लामो यात्रालाई फर्केर हेर्दा उनी आफूप्रति थप माया जागेको महसुस गर्छिन्।
‘आफूलाई देखेर झन् धेरै माया गर्न मन लाग्छ,’ उनी भन्छिन्, ‘पहिलेभन्दा धेरै परिपक्व भएँ जस्तो लाग्छ। धेरै कुरा सिकियो। जति पनि यात्रा भयो, त्यो एकदमै प्रिय र मिठो भयो।’
‘एक दिन एक रात’ बाट फिल्म खेल्न सुरु गरेकी मेनुकाले यो अवधिमा ‘रेशम फिलिली’, ‘भिसा गर्ल’, ‘सुनगाभा’, ‘भिजिलान्ते’, ‘उत्सव’, ‘झिग्राना’, ‘टलकजंग भर्सेस टुल्के’, ‘साँइली’, ‘पुरानो डुङ्गा’, ‘साढे सात’, ‘डमरुको डण्डिबियो’ लगायत फिल्ममा काम गरेकी छन्। ‘रेशम फिलिली’ लाई उनी आफ्नो करिअरको विशेष फिल्म नै मान्छिन्। कारण, यही फिल्मबाट उनलाई धेरै दर्शकले चिने।
त्यसमाथि ‘साँइली’ गीतले उनको परिचयको दायरालाई झन् फराकिलो बनाइदियो। यसको म्युजिक भिडिओ यति रुचाइयो कि पछि मेनुकालाई लिएर ‘साँइली’ फिल्म नै बन्यो। त्यति मात्रै होइन यो गीतपछि धेरैले मेनुकालाई ‘साइँली’ भनेरै चिन्न थाले। धेरैका लागि उनी ‘आफ्नै साइँली’ बनिन्। यो पात्रले उनलाई दर्शकको मनसँग सोझै जोडिदिएको उनी स्वीकार्छिन्।
‘साइँलीले चाहिँ धेरै अडियन्सहरूसँग मलाई नजिक बनाए जस्तो लाग्छ,’ उनले भनिन्, ‘जसरी उहाँहरूले साइँली भनेर आफ्नै घरकै कोही मान्छे, परिवारकै मान्छे जस्तो जुन व्यवहार गर्नुहुन्छ, एकदमै खुसी लाग्छ।’
अन्तर्मुखी स्वभावकी मेनुका सामाजिक सञ्जालमा ज्यादा सक्रिय छैनन्। आफ्ना निजी कुराहरू यतिसम्म गोप्य राख्छिन् कि फिल्म वृत्तमा बन्ने गसिपहरूले पनि खासै पछ्याउँदैनन् उनलाई। पर्दामा पटकपटक जोडीको भूमिका निर्वाह गरेकी उनलाई हामीले सोध्यौँ– तपाईं नसुती बिताएका त्यस्ता रातहरू छन्? के कुराले निद्रा आउँदैन?’
जवाफमा उनले कुनै बेला माया–प्रीतिकै कारण रातमा निन्द्रा नलागेको अनुभव सुनाइन्। उनले मुस्कुराउँदै भनिन्, ‘छन्, धेरै रातहरू छन्। खासगरी माया–प्रीतिकै कुराहरूले गर्दा धेरै रात नसुती बिताएको छु। प्रेमको त्यो अनुभूतिले गर्दा रात बितेको पनि थाहा नहुने रहेछ।’

उनका लागि प्रेम भनेको कसैको अगाडि ‘छर्लङ्गै’ हुनु हो।
‘छर्लङ्ग, ट्रान्सपरेन्सी, अथेन्टिसिटी नै हो प्रेम,’ उनले भनिन्, ‘प्रेममा भएपछि हामी एकअर्काप्रति पूरै छर्लङ्गै हुन्छौँ। केही लुक्दैन। प्रेम एउटा यस्तो शक्तिशाली अनुभूति हो, जसले समय र स्थानको सीमालाई नाघ्न सक्छ।’
धेरैलाई थाहा नहुनसक्छ, मेनुका एकान्तप्रेमी हुन्। पोखरा जाँदा दिनभरिका लागि डुंगा भाडामा लिएर एक्लै फेवातालको कुनाकाप्चा घुम्नु उनको प्रिय सोख हो।
अभिनयमा अब्बल उनलाई अब निर्देशनको भोक पनि जागेको छ। दुई वर्षयता उनी निरन्तर कथा लेखिरहेकी छन्।
‘आफै कथा भन्न मन छ। खासमा तयारी गरेको धेरै लामो भइसक्यो। अब चाहिँ बनाउनुपर्छ है, यो धेरै लेट भयो जस्तो लाग्छ,’ उनले भनिन्।
हेर्नुहोस्, मेनुका प्रधानसँगको ‘लेट्स टक’ जहाँ उनले आफ्नो फिल्म करिअरदेखि जीवनका अनेक पाटामाथि खुलेर कुरा गरेकी छन् :
फोटो/भिडिओः सरोज नेपाल

प्रतिक्रिया