कला


पत्रकार खगेन्द्र गिरीको कथा संग्रह ‘भग्न प्रेमशाला’ सार्वजनिक

‘कथाकारको रूपमा खगेन्द्रको खतरनाक ढंगले प्रवेश भएको छ’
पत्रकार खगेन्द्र गिरीको कथा संग्रह ‘भग्न प्रेमशाला’ सार्वजनिक

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार २०:९, काठमाडौँ

पत्रकार तथा लेखक खगेन्द्र गिरीको कथा संग्रह ‘भग्न प्रेमशाला’ सार्वजनिक भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा लेखक गिरीसहित साहित्यकारहरू नयनराज पाण्डे, सगुना शाह र बसन्त बस्नेतले सयुक्त रूपमा कथासंग्रह विमोचन गरे। 

‘भग्न प्रेमशाला’ पत्रकार खगेन्द्र गिरीद्वारा लिखित पहिलो कथा सङ्ग्रह हो। यस संग्रहमा विभिन्न विषयका ९ वटा कथाहरू रहेका छन्। जसभित्र निर्मुक्त स्त्री, मखमल, अदृश्यस अतस्निहत्था, किमा पराठा, चिसो, स्माइल प्लिज, खुकुरी, हाप्सिलो र हगनगौंडा समावेश छन्। 

विमोचन समारोहमा बोल्दै लेखक तथा अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले कथा पढेपछि ‘कथाकारको रूपमा खगेन्द्रको खतरनाक प्रवेश भएको’ टिप्पणी गरे। 

‘केही वर्षयता उपन्यासको दबदबा छ। अझ दादागिरीनै छ भन्न सकिन्छ। उपन्यासकारको दादागिरीलाई यो कथासंग्रहले हटाउन सक्दैन, घटाउन चाहिँ मजाले सक्छ। त्यसैले खगेन्द्रको कथाकारको रूपमा खतरनाक ढंगले प्रवेश भएको छ। नेपाली साहित्यलाई निकै माथि लैजान सक्ने र निकै आशा गर्न सकिने पाठक तथा लेखकका रूपमा म भन्न सक्छु,’उनले भने। 

‘भग्न प्रेमशाला’ मा खगेन्द्रले नयाँ प्रयोग गरेकाले कथा पढ्दा निकै रमाइलो लागेको उनको अनुभव छ।

बस्नेतले भने, ‘हरेकचोटी पार्टी खोल्दाखेरि पूर्खाका अधुरा इच्छा साकार गर्छौं भनेर गरिन्छ। त्यस्तै हरेक साहित्यकारले पनि केही नयाँ हाल्छन्। खगेन्द्रले पनि नयाँ हालेकै छन्। तर, प्रयोगहरू चाखलाग्दो र एकदम दिमाग हल्लाउने खालका छन्। कथाहरू पढ्न मजा आउँछ। चिल्ला उपन्यासभन्दा जीवन र समाज जस्तो छ त्यस्तै प्रस्तुत गरिएको छ।’ 

अनुवादक तथा रंगकर्मी सगुना शाहले यस पुस्तकले इतिहासदेखि वर्तमानसम्मको समाजमा विद्धमान राजनीतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक कुरालाई समेटेको बताइन्। समाजका हरेक पाटोलाई सुक्ष्म ढंगले अवलोकन गरेर ‘भग्न प्रेमशाला’ लेखिएको उनको भनाइ छ। 

‘बहुत मनोवैज्ञानिक दृष्टिकोणले लेख्नुभएको छ। खगेन्द्रको सबैभन्दा ठूलो तागत भनेको चाहिँ उहाँले कुनै पनि वादहरूलाई पक्रेर लेखेजस्तो लागेन। त्यो स्वस्फूर्त रूपमा अगाडि आउँछ। र, कथाहरूको सबैभन्दा बलियो पक्ष भनेको आधिकारिक भ्वाइस भन्छु,’ सगुना शाहले भनिन्, ‘उहाँले समाजलाई एक सुक्ष्मतरिकाले अवलोकन गरेर कथा लेख्नुभएको छ।’

रंगकर्मी शाहले थपिन्, ‘यसमा यस्तो कथा छ जहाँ विभिन्न कालमा महिला मान्छेका कथा आउँछ। इतिहासका पात्रहरूदेखि वर्तमान समय र जनयुद्धमा मरेकादेखि लिएर बालविवाहका कुरा छन्। अनेक विभेदका कथा छन्।’

सुरूमा कथा सामान्य लागेपनि पढ्दै जाँदा निकै बलियो लागेको उनको धारणा छ।

शाहले भनिन्, ‘सुरूमा कथाहरू सामान्य लाग्छन्। पढ्दै जाँदा कल्पनै गर्न नसकिने कथाहरू छन्। संघर्ष, बाधा र रहस्य उद्धित हुँदै जान्छ। त्यो एकदम बलियो रूपमा, कल्पनै गर्न नसकिने तरिकाले आउँछ।’

लेखक नयनराज पाण्डेयले नेपाली कथाको क्षेत्रमा गर्न सकेनौं कि भन्ने बेलामा खगेन्द्र गिरीको कथाले एकदमै आशावादी बनाएको उल्लेख गरे। उनले कथाहरू निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको बताउँदै पढ्न मजा आएको भनाइ राखे। 

‘भग्न प्रेमशाला निकै सुन्दर लाग्यो। के पढ्यो भनेर ठ्याकै हेक्का नहुने तर पात्रको अनुहार, उदासी पन, समस्या र सुखदुख सबै सरेजस्तो भइरहने’, नयनराज पाण्डेयले भने, ‘कथाहरू वनावटी लाग्दैनन्, एकदम स्वतस्फूर्त रूपले भाषा मिठो छ। अहिलेको अवस्थामा कथा यसरी लेख्नुपर्छ है भनेर लेख्ने गतिलो सन्दर्भ प्रस्तुत गर्नुभएको लाग्छ।’

कथा पढ्दा दिमाग हल्लाउने हुँदा तनावरहित रूपमा किताब पढ्न समेत उनले आग्रह गरे। 

पुस्तकका लेखक नेपालखबरकर्मी गिरीले टुटेफुटेको प्रेमको अतिरिक्त तृष्णाहरूको कथालाई आफूले समेटेको बताए। साथै उनले यस कथासंग्रह निकाल्न सहज भएको सन्दर्भ पनि जोडे। 

‘गतवर्षको दसैँताका कान्तिपुरको कोसेलीमा नारायण ढकालसँगै मेरो केस नम्बर ४ भन्ने कथा छापिएको थियो। प्रकाशन भएपछि एकदुई दिनमा उहाँको फोन आयो। तपाईंले कथा लेख्नुभएको रहेछ, पढेँ भन्नुभयो। अरू कथा पनि लेख्दै हुनुहुन्छ भन्ने सुनेँ। छाप्नुपर्छ भन्नुभयो। त्यो फोनले छाप्ने मेसो मिल्यो। पुस्तक निकाल्न सघाउने सबैलाई धन्यवाद,’ गिरीले भने।

इन्डिगो इन्क प्रकाशक रहेको ‘भग्न प्रेमशाला’ पुस्तकको मूल्य ५४९ रूपैयाँ रहेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad