६ जना चर्चित नेपाली कमेडियनले अमेरिकामा आयोजना हुने स्ट्यान्डअप कमेडी टुरमा हास्य प्रस्तुति दिने भएका छन्।
फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्त रुपमा ‘हाँस्छ अमेरिका: भोल्युम १’ नामक स्ट्यान्डअप कमेडी टुरको आयोजना गरेका छन्।
अहिलेका चर्चित कमेडियन भरतमणि पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठले प्रस्तुति दिने तय भएको हो ।
‘कलाकारको भिसासहितका प्रक्रिया सकिएसँगै टूर आयोजना हुने निश्चित भएको छ’ आयोजक फेम नेपालका प्रमुख बिमलकुमार पछाईले भने।
उनका अनुसार डिसेम्बरदेखि जनवरीसम्म १५ भन्दा धेरै अमेरिकी सहरमा टूर हुन लागेको हो । १५ सहरमा गर्ने भनिएपनि नाम र मिति हुन बाँकी छ।
‘यी सबै प्रतिभाशाली कलाकारले अमेरिकाभरका नेपाली दर्शकलाई हाँसो, रमाइलो र सन्देशमूलक मनोरञ्जन प्रदान गर्नेछन्। अब सहर बुकिङ खुला भएको छ,’ पछाईले भने।
उनले आफ्नो सहरमा टूर आयोजना गर्न चाहने स्थानीय आयोजक, समुदायका प्रतिनिधि र इभेन्ट प्रमोटरलाई सम्पर्क गर्न आग्रह गरे ।
कमेडियन भरतमणीका अनुसार उनको टोली नोभेम्बर अन्त्यतिर अमेरिका उड्नेछ। टूरमा कलाकारले अहिले प्रसारण भैरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा निर्वाह गरेका कतिपय चरित्र प्रस्तुत गर्नेछन् ।
भरतमणी र सुमन कोइरालाले घरबेटी र माइकलको भूमिका गर्ने भएका छन् । कैलाशले भिकारी, सजनले स्ट्यान्ड अप, मेक्सम गौडेल र सुमन कार्कीले कुन चरित्र निर्वाह गर्ने तय हुन बाँकी छ।
Shares

प्रतिक्रिया