कला


पलेँटीमा गुञ्जिँदै आभास, साथमा अभिज्ञा घिमिरे

पलेँटीमा गुञ्जिँदै आभास, साथमा अभिज्ञा घिमिरे

नेपालखबर
पुस ७, २०८२ सोमबार १२:२१, काठमाडौँ

अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको आर शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जनाहरू प्रस्तुत हुने भएका छन्।

गत २० वर्षदेखि पलेँटी कार्यक्रमलाई संगीतकार आभासले नै संयोजन गर्दै आएका छन्। डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार हुने पलेँटीमा आभासलाई अभिज्ञा घिमिरेले साथ दिनेछिन्। अभिज्ञा गत एक वर्षदेखि पलेँटीसँग सम्बद्ध रहँदै आएकी छन्। 

आभास आफै गीत लेखनमा सक्रिय कलाकार हुन्। तर, उनले अन्य गीतकारका रचनामा पनि धुन भर्ने गरेका छन्। 

नेपालयका अनुसार यो महिनाको पलेँटीमा आभासले धुन भरेका र गाएका गरेर झण्डै एक दर्जन रचनाकारका शब्द र धुनहरू समेटिने छन्। त्यसैले यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’  राखिएको छ।

पलेँटीका लागि आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका शब्दलाई आफ्नो धुनमा समेटेका छन्। उनले तयार पारेको सूचीमा संगीतकारहरू अम्बर गुरुङ, भीम बिराग र चन्द्र भण्डारीका गीतकारहरू, कालीप्रसाद रिजाल, मञ्जुल, बुँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका रचनाहरू प्रस्तुत गरिनेछन्।

पलेँटीमा प्रस्तुत गर्नका लागि आभासले सीमापारिका नेपाली भाषी सर्जकका गीतलाई समेत समेटेर अभ्यास गरिरहेका छन्। जसमा दार्जिलिङका पुराना गीतकार नरदेन रुम्बा र कवि सञ्जय बान्तावाका गीत छन्। 

‘गीत, संगीत जीवन्त कला हो। यसले हरदम सर्जकहरूको संगत र सहकार्यको खोजी गरिरहेको हुन्छ। हामीले सञ्चालन गर्दै आएको पलेँटी त्यही खोजको एउटा पाटो हो,’ आभास भन्छन्, ‘संगीतमा सर्जकको मात्र होइन, श्रोता र दर्शकको संगत र सहकार्यको पनि आवश्यकता हुन्छ। मलाई विश्वास छ सधैँ झैँ यसपालि पनि पलेँटीका श्रोता र दर्शकबाट न्यानो संगत पाउने नै छौं।’ 

यो महिनाको पलेँटी कार्यक्रम डिसेम्बर २६ तारिख शुक्रबार र २७ तारिख शनिबार कालिकास्थानस्थित नेपालयको आर शालामा आयोजना हुनेछ। पलेँटीलाई आर शालामा आएर प्रत्यक्ष अनुभव गर्न असमर्थ संसारभरका संगीतप्रेमीका लागि लाइभ हेर्न सकिने व्यवस्था गरिएको छ। पलेँटीकै वेबसाइटमार्फत हेर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad