फिल्म ‘महाराजधिराज’मा केकी अधिकारी अनुबन्धित भएकी छिन्। उनी फिल्ममा ‘महारानी’को भूमिकामा देखिनेछिन्।
तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेशन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन्। केकीको प्रवेशसँगै यो सिनेमा थप बलियो बन्ने पक्का भएको यसको लाइनअपले देखाएको छ ।
केही दिनअगाडि मात्रै यस चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए। निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको पोस्टर समेत सार्वजनिक गरेको थियो ।
परिच्छेद सेन निर्देशीत फिल्ममा पुष्पका साथै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, केकी अधिकारी, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायतको अभिनय रहेनेछ।
निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन्। पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ ।
फिल्मको सुटिङ वैशाखको दोस्रो साताबाट सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ। नबराज थापाले खिँच्ने फिल्ममा सेन स्वयंको लेखन रहेको छ।
निर्माण टिमका अनुसार ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
30
Shares

प्रतिक्रिया