विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी ‘सन्दुक रूइत’ लोकार्पण भएको छ। काठमाडौं धुम्बाराहीस्थित होटल अकामामा शनिबार आयोजित एक विशेष समारोहमा २१ वर्षसम्म पूर्ण दृष्टिविहीन भएर डा.रुइतले गरेको शल्यक्रियाबाट दृष्टि पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले पुस्तक लोकार्पण गरे।
अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन्।
कार्यक्रममा शर्माले आफूले २१ वर्षको उमेरसम्म पूर्ण रुपमा दृष्टिबिहीन भएर जीवनयापन गर्नुपरेको र यसबीचमा डा. रुइतले आफूलाई नयाँ जीवन दिएको स्मरण गरे। त्यसअघि आफूले धेरै दुःख पाए पनि डा. रुइतका कारण नयाँ संसार पाएको उनको भनाइ रह्यो। आफ्नै हातबाट यति महान् डाक्टरको जीवनी लोकार्पण गर्न पाउनु जीवनकै अहोभाग्य भएको उनले सुनाए।
तिलगंगा अस्पतालकी सिइओ रिता गुरुङले आफूले डा. रुइतसँग तिलगंगा अस्पतालमा सुरुवाती चरणबाटै काम गरेको बताइन्। सुरुवाती चरणमा डा. रुइतले आफूलाई सहकार्य गर्न आग्रह गर्दा आफू उनको प्रतिबद्धता एवम् काम देखेर तयार भएको उनले सुनाइन्। कर्मशील एवम् आफ्नो काममा प्रतिबद्ध रुइतका कारण आफू सधैं उनको काममा जोडिएको उनले बताइन्। कामको सिलसिलामा जहिल्यै पनि डा. रुइतबाट आफूले प्रेरणा एवम् उत्साह पाएको उनको भनाइ छ। डा. रुइतले आफूलाई काम मात्रै नदिएको उनले सामाजिक एवम् परोपकारी काममा लाग्न पनि प्रेरित गरेको उनले बताइन्।
कार्यक्रममा पुस्तक अनुवादक संग्रौलाले पुस्तक अनुवादको चरणका रोचक प्रसंग सुनाए। माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पुस्तक अनुवाद गरेका उनले डा. रुइतको जीवनीले आफूलाई प्रभावित पारेको र त्यसका लागि तयार रहेको प्रतिक्रिया दिए। आफूले अनुवाद गरेका अन्य पुस्तकको तुलनामा यो अति उत्कृष्ट पुस्तक रहेको उनको भनाइ थियो। जसले मानिसको जीवनमा ज्योति भर्नका लागि, जीवनमा नयाँ ऊर्जा थप्नका लागि केही गर्छ, त्यो वास्तवमै उत्कृष्ट हुन्छ। डा. रुइतले पनि आफ्नो जीवनमा त्यही काम गरेको लेखक संग्रौलाले बताए।
रुइत आफूलाई मन परेको लक्ष्य प्राप्त गर्ने काममा विवाद झेल्न, जोखिम उठाउन र मर्न पनि तयार रहेको एउटा व्यक्ति रहेको संग्रौलालो बताए। डा. रुइत नेपालको सांस्कृतिक वीर रहेको उनको दाबी छ। उनले भने, 'सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवम् सादा जीवन, उच्च विचारको आदर्शले शोभित सानदार जीवन हो। रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ। यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन्।'
डा. रुइत पाँच सात मिनेटमा एउटा मानिसलाई अन्धकारबाट उज्यालोमा ल्याउने व्यक्ति रहेको उनले बताए। संसारमा असलमध्ये पनि असल व्यक्ति रहेको उनको भनाइ छ।
लेखक एवं पत्रकार विजयकुमारले डा. रुइत जीवनमा संघर्ष, आरोहअवरोह, सफलता आदिको पर्यायका रुपमा रहेको धारणा राखे। जसको जात एवम् धर्मको परिचय छैन, त्यहाँबाट उठेर जीवनमा लाखौं मानिसलाई सम्मानपूर्ण जीवन दिन सक्ने र उनीहरुको जिन्दगीमा उज्यालो दिने व्यक्ति डा. रुइत भएको उनको भनाइ छ।
मानिसको जीवनका सबै किसिमका रङ यो पुस्तकमा रहेको उनले बताए। बाटो जतिसुकै अप्ठ्यारो किन नहोस्, हिँडेपछि पुगिन्छ। त्यसको एउटा उदाहरण डा. रुइत रहेको उनले बताए।
आफूले अहिलेसम्म अध्ययन गरेको सबैभन्दा सुन्दर पुस्तकमध्ये एक रहेको उनी बताउँछन्।
कार्यक्रममा डा. रुइतले पुस्तक आफ्नो जीवनको मात्र नभई परिवार, आफ्नो जीवनमा भएका उतारचढाव, सफलता, आरोहअवरोह एवम् तिलगंगा आँखा अस्पतालको संघर्षको कथा भएको बताए।
डा. रुइतले भने, 'अङ्ग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आएकोमा म एकदम हर्षित छु। मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु।'
प्रकाशक फाइनप्रिन्टका अजित बरालले डा. रुइतको जीवनी छाप्न पाउनु आफूहरुका लागि महाचाड जस्तै भएको बताए। डा. रुइतले आफ्नो सुकर्मबाट लाखौं मानिसको जीवनलाई नयाँ जीवन दिएको र उनको जीवनीले सबैलाई प्रेरणा दिने उनले बताए।
Shares

प्रतिक्रिया