प्रेम र धोकाको विषयमा विभिन्न समयमा धेरै किसिमको समाचार आइरहेका हुन्छन्। भारतमा पनि प्रेम र धोकाको विषयमा एउटा फिल्मी शैलीको घटना सार्वजनिक भएको छ।
परिवारले अर्कैसँग विवाह गरिदिएपछि सँगै मर्ने निर्णय गरेको एउटा जोडीको मुद्दा अहिले अदालतमा पुगेको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको जोडीको विवाह परिवारले अर्कैसँग गरिदिएका थिए। युवतीको विवाह प्रयागराजमा भएको थियो भने पुनेका चन्दुले पनि विवाह गरेका थिए।
केही महिनाअघि महिला ६ वर्षकी छोरीसहित पुने आएकी थिइन्। सो क्रममा उनको चन्दुसँग भेट भएको थियो। महिला प्रयागराज फर्किएपछि पनि उनीहरुको बीचमा अर्कैसँग विवाह भएको विषयमा विवाद उत्पन्न भएको थियो।
चन्दुले आफ्नी श्रीमतीलाई सम्बन्धविच्छेद दिएर महिलासँग विवाहको प्रस्ताव पनि गरेका थिए तर यस विषयमा कुरा नमिलेपछि उनीहरु दुवैले एकसाथ मर्ने निर्णय गरेका थिए।
त्यसपछि गत मे २९ मा उनीहरु यमुना नदी पुगेका थिए । यमुना नदीमा युवतीले पूर्वयोजनाअनुसार हाम फालिन्। तर, अन्तिम समयमा चन्दु भने पछि सरे।
एकसाथ हाम फाल्ने वाचा गरेका चन्दु हाम नफालेपछि युवती पौडिएर नदी बाहिर आइन्। युवतीलाई बेहोस अवस्थामा स्थानीय प्रहरीले भेटेर अस्पतालमा भर्ना गरेका थिए।
निको भएपछि युवतीले चन्दु नाम गरेका प्रेमीविरुद्ध मुद्दा दायर गरेकी छिन्। प्रहरीका अनुसार अहिले युवकमाथि महिलाको हत्या प्रयास गरेको र उनको मोबाइल पनि फुटाइदिएको आरोपमा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया