रोचक


दश जना वैज्ञानिक जसले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक फन्को मारिरहेका छन्

दश जना वैज्ञानिक जसले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक फन्को मारिरहेका छन्

नेपालखबर
चैत १०, २०८२ मंगलबार १७:५९, काठमाडौँ

के कुनै एक व्यक्तिले प्रत्येक ९० मिनेटमा एक फन्को मार्छन् भन्दा तपाईँलाई पत्यार लाग्छ? एक व्यक्तिका लागि पक्कै पनि त्यो असम्भव हो। तर अन्तरिक्ष यानबाट त्यो सम्भव छ। र, अहिले पनि विभिन्न देशका १० जना वैज्ञानिकले त्यो प्रक्रिया पूरा गरिरहेका छन्।

ती १० जना मध्ये तीन जना चिनियाँ, तीन रसियन, तीन अमेरिकन र एक यूरोपियन वैज्ञानिक छन्। अन्तरिक्षामा काम गर्ने अहिले दुई वटा छुट्टा छुट्टै स्टेशन छ। एक, इन्टरनेशनल स्पेस स्टेशन (आइएसएस) र अर्को तियाङगोङ। त्यस मध्ये आइएसएस अमेरिका, रूस, जापान, क्यानडा र यूरोपका ११ वटा देशको सहकार्यमा सञ्चालन भइरहेको छ। अर्को चीन एक्लैले सञ्चालन गर्छ।

आइएसएसमा अहिले विभिन्न देशका सात जना वैज्ञानिक बसिरहेका छन् भने तियाङगोङमा चीनका तीन जना वैज्ञानिक बसिरहेका छन्। आइएसएसमा रहने मध्ये क्रिष्टोफर विलियम्स, जेसिका मेइर, ज्याक हाथ्वे अमेरिकन हुन्। उनीहरू नासा मातहतका वैज्ञानिक हुन्। त्यहीँ स्टेशनमा रूसको अन्तरिक्ष सँस्था रोस्कोस्मोसका सर्गेइ कुद–स्वेच्र्कोभ, सर्गेइ मिकायेभ र एन्ड्रे फेद्यायभ पनि छन्।

यो स्टेशनमा भएको सोफि एडेनोट भने यूरोपियन स्पेस एजेन्सी मातहतका वैज्ञानिक हुन्। यी मध्ये क्रिष्टोफर र कुद–स्वेच्र्कोभ २०२५ को नोभेम्बरमा २७ र बाँकी चार जना १३ गत फ्रेबुअरीमा त्याहाँ पुगेका हुन्।

२६ वर्षदेखि निरन्तर बसिरहेछन् वैज्ञानिक
नासाले सन् २००० देखि अन्तरिक्षमा मान्छे बस्ने स्टेशन बनाएका हो। त्यसयता उक्त स्टेशनमा निरन्तर वैज्ञानिकहरू रहने गरेका छन्। यद्यपी यसका टिम मेम्बर (सहभागी सदस्य) भने अदलबदल भइरहन्छ। सामान्यत एउटा टीमले छ महिना त्यहाँ बसेर काम गर्दछ। तर कतिपय अवस्थामा एउटै व्यक्ति पनि एक वर्ष वा सोभन्दा बढि समय बसेर काम गरेको उदाहरण छ।

नासाले पहिलो पटक अन्तरिक्षमै बसेर काम गर्नेगरी वैज्ञानिकहरू पठाउँदा एक अमेरिकन तथा दुई रसियन वैज्ञानिक सामेल थिए। सन् २००० को अक्टोबर २१ गएका ती सदस्यहरूमा विलियम शेफर्ड अमेरिकन थिए भने सर्गेइ क्रिकलेभ र यूरि गिद्जेन्को रसियन वैज्ञानिक थिए।उनीहरू कुल १३६ दिन काम गरेर २१ मार्चमा पृथ्वीमा फर्किका थिए।

उनीहरूले स्पेश स्टेशनमा लामो समय निरन्तर काम गरेर बस्ने पहिलो मानिसको इतिहाससमेत बनाएका छन्। त्यसपछि शुरू भएको यो यात्रा निरन्तर जारी छ। ती तीन जना वैज्ञानिकहरूले स्पेश स्टेशनमा पुगेर पहिलो पटक स्टेशनको सिस्टम सञ्चालनमा ल्याएका हुन्। उनीहरूकै प्रयासपछि त्यसयता स्टेशनमा निरन्तर मानिसहरूलाई बस्ने वातावरण बनेको हो।

लामो बसाइको इतिहास
अन्तरिक्षमा गुरूत्वाकर्शणको प्रभाव लगभग शून्य (माइक्रो ग्रयाभिटि)हुन्छ। यसै कारण लामो समय बस्दा हड्डी र मांसपेशी कमजोर बनाउँछ। अर्कोतर्फ यहाँ उत्पन्न हुने रेडियसन, मानसिक प्रभाव र खाना तथा अक्सिजनको सिमित आपूर्तिको कारण मानिसहरू धेरै समय यहाँ बसिरहन सक्दैनन्।

स्टेशनमा सामान्यत वैज्ञानिकहरू छ महिना मात्र बस्ने गर्छन्। तर केहि वैज्ञानिकहरू त्योभन्दा बढि बस्ने पनि छन्।

सबभन्दा लामो समय बस्ने वैज्ञानि स्कट केली र मिखाइल कोर्निइन्को हुन्। उनीहरुले ३४० दिन अन्तरिक्षामा विताएका थिए।त्यसबाहेक यी हुन लामो समय बस्ने वैज्ञानिक :

भलेरि पोल्याकोभ : ४३७ दिन 
क्रिष्टिना कोच  : ३२८ दिन 
पेग्गी ह्वीटसन : ६६५ दिन
(तर उनको यो बसाई निरन्तर एकै पटक नभइ पटक पटकको विभिन्न मिसनमा भएको संलग्नताको एक मुष्ट गणना हो।)  

चीनको छुट्टै स्टेशन 
नासाले अन्तरिक्षमा स्टेशन बनाएर विभिन्न अध्ययन अनुसन्धान गरिरहेको नासालाई पछ्याउँदै चीनले सन् २०२१ अप्रिल २९ देखि त्यस्तो स्टेशन बनाउका लागि पहिलो पटक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो।

त्यसपछि निरन्तर काम गर्दै उसले त्यसै सालको जुन महिनामा पहिलो पटक स्टेशनमा बस्नेगरी वैज्ञानिक पठायो। त्यस यता उसले निरन्तर वैज्ञानिकहरू पठाउने तथा फिर्ता ल्याउने गर्दै आएको छ।

के गर्छन् वैज्ञानिक त्यहाँ?
अन्तरिक्ष स्टेशनमा रहँदा वैज्ञानिकहरूले जिव विज्ञान, भौतिक विज्ञान, औषधी उपचार, पृथ्बीको भौगोलिक विज्ञा आदिबारे अध्ययन अनुसन्धान गर्छन्। जसमध्ये अमेरिकन वैज्ञानिक पेग्गी ह्वीट्सन र फिसरको नाम निक्कै अघि आउँछ। उनले आइएसएसमा रहँदा आफ्नो मिसनका क्रममा अमेरिकाका धेरै अन्तरिक्ष कीर्तिमानहरू बनाइन्।

व्हिट्सन र फिशरले जीवविज्ञान, जैवप्रविधि, भौतिक विज्ञान र पृथ्वी विज्ञानका सयौं प्रयोगहरूमा योगदान दिए। उनीहरूले धेरै कार्गो अन्तरिक्ष यानहरूलाई स्वागत गरे, जसले टनौंटन आपूर्ति र अनुसन्धान सामग्री ल्याएका थिए। उनीहरूले स्टेशनको मर्मत तथा स्तरोन्नतिका लागि जम्मा ६ पटक अन्तरिक्ष बाहिर निस्केर ‘स्पेस वाक’ काम गरे।

वैज्ञानिक उपलब्धिहरूमध्ये, व्हिट्सन र फिशरले दीर्घकालीन सूक्ष्म गुरुत्वाकर्षण (माइक्रोग्रयाभिटि) मा बस्दा अन्तरिक्ष यात्रीहरूको आँखामा हुने शारीरिक परिवर्तन, फोक्सोको नयाँ टिस्यु सम्बन्धी गरेको अध्ययन निक्कै उपलब्धीमूलक मानिन्छ। उनीहरूले क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापी औषधिको प्रभावकारिता बढाउन सक्ने एन्टिबडी सम्बन्धी गरेको अध्ययन, उन्नत प्लान्ट ह्याबिटाट प्रयोग गरेर अन्तरिक्षमा बिरुवाको वृद्धि र शरीरक्रियाबारे अध्ययन पनि महत्वपूर्ण मानिन्छ।

(स्रोत : www.space.com, www.nasa.gov तथा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यम)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad