ad ad

गण्डकी


‘मतदातालाई आफ्नै हातले बनाएको चिया खुवाउँदै भोट माग्दै’

अरबपति मन्त्रीसँग चुनाव लड्दैछन् राप्रपाका अरुण गिरी
‘मतदातालाई आफ्नै हातले बनाएको चिया खुवाउँदै भोट माग्दै’

वाशुदेव मिश्र
कात्तिक १६, २०७९ बुधबार २१:१६, पाेखरा

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ ‘ख’ मा उम्मेदवारी दिएका अरुण गिरीले प्रचारको नयाँ शैली अपनाएका छन्।

आफ्नो क्षेत्रका मतदाताहरुसँग मत माग्न उनले चिया बेच्ने नयाँ शैली अपनाएका हुन्। गिरीले राप्रपाको सम्पर्क कार्यालय पोखराको सृजनाचोकमा चियाको स्टल राखेर आफैँ चिया पकाएर मतदाताहरुलाई खुवाएका थिए।

बुधबार दिउँसो ४ बजेदेखि करिब ३ घण्टा उनले मतदाताहरुलाई आफैँले चिया पकाएर खुवाए।

सहभागी मतदाता र शुभचिन्तकहरुलाई चिया खुवाउँदै उनले आफ्ना चुनावी एजेन्डाहरु पनि सुनाए। त्यस्तै, उनले उपस्थित मतदाता र सुभचिन्तकहरुको सल्लाह सुझाव लिए। फरक शैलीको प्रचारप्रसारलाई मतदाताहरुले निकै रुचाएका थिए। 

‘खासगरि चियागफको अवधारणामा मैले मतदाताहरुसँग भेट्ने एउटा वहाना खोजेको थिएँ। अत्यन्त व्यक्तिगत र आत्मीय तरिकाले मैले मेरो क्षेत्रको मतदाताहरुसँग कुराकानी गर्न चाहेको थिएँ। मेरो र पार्टीको एजेन्डा सुनाउन चाहेको थिएँ। त्यो सँगै मतदाताहरुको चाहना के छ भन्ने कुरा बुझ्न पनि चाहेको थिएँ’, उम्मेदवार गिरीले भने,’हामीले गरेको यो चुनावी प्रचारको शैलीले राम्रै गरेको छ।’ 

करिब ३ सय जनाले बुधबार अरुण गिरीसँग चियागफमा सहभागी भएको राप्रपा कास्की क्षेत्र नम्बर २ ख को प्रचारप्रसार समितिले जनाएको छ।

चिया बनाएर मतदाताहरुलाई खुवाउनुलाई अरुण गिरीले फगत प्रचार मात्र नभइ एउटा सन्देश पनि भएको बताए।

‘श्रमको सम्मान गर्दै युवा पुस्तालाई स्वरोजगार बनाउन आवश्यक छ भन्ने सन्देश मैले यो कार्यक्रममार्फत् दिन खोजेको हुँ’ गिरीले भने, ‘त्यो बाहेक जनप्रतिनिधिलाई जनताले सजिलै भेट्न र आफ्ना कुराहरु राख्न पाउनुपर्छ भन्ने सन्देश पनि मैले दिन खोजेको हुँ।’ 

अरुण गिरी राप्रपा कास्कीका प्रवक्तासमेत हुन्। उनी ‘अब उदाहरण बन्ने पालो पोखराको’ भन्ने नारासहित कास्की क्षेत्र नम्बर २ ‘ख’ को चुनावी मैदानमा होमिएका छन्।

उनी कांग्रेसका बहालवाला प्रदेश कानूनमन्त्री विन्दुकुमार थापा र एमालेकी वहालवाला प्रदेश सांसद मीना गुरुङसँग प्रतिस्पर्धा गर्दैछन्। मन्त्री थापा गण्डकीका धनाढ्य मन्त्री हुन् भने मीना पनि आर्थिक रुपले सम्पन्न नै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .