ad ad

गण्डकी


‘माया मारिएका’ खगराज र ‘ज्यानको माया छाडेर’ युद्धमा होमिएका दीपक आमने-सामने

‘माया मारिएका’ खगराज र ‘ज्यानको माया छाडेर’ युद्धमा होमिएका दीपक आमने-सामने

वाशुदेव मिश्र
मंसिर १, २०७९ बिहिबार २१:३०, काठमाडौँ

२०७४ माघ ७ गते गण्डकीका सांसदहरुले सपथ लिए। मनाङ ‘ख’ बाट जितेका स्वतन्त्र राजीव गुरुङ (दीपक मनाङ्गे) बाहेक सबै उपस्थित समारोहमा सबैभन्दा दंग चाहिँ लमजुङ ‘ख’ बाट जितेका पृथ्वीसुब्बा गुरुङ थिए।

तत्कालीन वाम गठबन्धनबाट जितेका पृथ्वीसुब्बा मुख्यमन्त्री हुने पक्काजस्तै थियो। तर, अर्का नेता किरण गुरुङले संसदीय दलमा दाबी गरे। उनलाई संसदीय दलको नेता बनाउन अर्का एमाले नेता खगराज अधिकारीले साथ दिएका थिए।

तर, चुनाव नै भए पनि पृथ्वीसुब्बा संसदीय दलको नेता चुनिने अवस्था आयो। किरणले दाबी छाडे।

त्यसो त, एमालेले उम्मेदवार चयन गर्नुअघि खगराज स्वयंले पनि गण्डकी प्रदेश मुख्यमन्त्रीको चाहना व्यक्त गरेका थिए। पोखराको जिरोकिलोमिटरमा आयोजित पत्रकार सम्मेलनमा व्यक्त उनको चाहना पूरा भएन। बरु, उनलाई पार्टीले संघीय सांसद बनायो।

२०७१ सालमा सुशील कोइराला मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री रहेका खगराजले केपी ओली सरकारमा मन्त्री चाहिँ पाएनन्। अन्तिममा केपी ओलीले उनलाई गृहमन्त्री त बनाए तर सर्वोच्चको आदेशसँगै १३ दिनपछि उनी पदमुक्त बने।

यता, प्रदेशमा पृथ्वीसुब्बा मुख्यमन्त्री बनेपछि उनी निकटहरु अवसरबाट बञ्चित भए। कतिसम्म भने, पार्टी नेतृत्वबाट खगराज निकट मानिने एमाले कास्कीका तत्कालीन अध्यक्ष कृष्ण थापालाई मन्त्री बनाउन गरिएको आग्रह पनि पृथ्वीसुब्बाले लत्याइदिए।

पृथ्वीसुब्बा र खगराजबीचको कटुता सतहसम्मै आइपुग्यो। उनले गण्डकी प्रदेश राजधानी रहेको कास्कीबाट कसैलाई पनि मन्त्रिपरिषद्‌मा सामेल गरेनन्। जबकि, कास्कीका ६ मध्ये ३ क्षेत्रबाट एमाले र २ चुनावी क्षेत्रबाट माओवादीको प्रतिनिधित्व गर्ने सांसद थिए। 
र, तीमध्ये एक थिए–कास्की क्षेत्र नम्बर १ को ‘क’बाट प्रतिनिधित्व गर्ने दीपक कोइराला।

माओवादी केन्द्रका दीपक कोइरालालाई चुनावताका खगराज अधिकारीले खुबै सघाए। चुनावी क्षेत्रमा सँगै घरदैलोमा लिएर हिँडे। चुनावी सभामा  उनी भन्थे,‘मलाईभन्दा दीपक कोइरालालाई जिताउनुपर्छ।’

संयोग कस्तो भने, मुख्यमन्त्री बन्ने चाहनासहित सोही क्षेत्रबाट चुनावी मैदानमा रहेका खगराजलाई अहिले माओवादीका दीपकले टक्कर दिइरहेका छन्। वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका दीपक युवा जोशसहित मैदानमा उत्रँदा पाका र अनुभवी खगराज उनै दीपकविरुद्ध ‘रुखा शब्द’ खर्चने अवस्थामा पुगेका छन्।

दीपक युवा छन्। अघिल्लो चुनावमा खगराजसँगै हिँडेर संसदीय राजनीतिको ‘तिकडम’ बुझेका माओवादीका पूर्वबिग्रेड कमाण्डर युवा नेतृत्वको नारासहित मैदानमा छन्। गण्डकी प्रदेशको विकास समितिको सभापति रहँदा सुशासन र विकासको पक्षमा आफूले खेलेको भूमिका अनि चुनावी क्षेत्रमा गरेका विकासका कामहरुकै कारण खगराजलाई कडा चुनाैती प्रस्तुत गरिरहेका छन्।

अघिल्लो चुनावमा प्रतिस्पर्धी बनेका कांग्रेसका जीवन परियारलाई साथ लिएर घरदैलो गर्ने क्रममा उनले भन्ने गरेका छन्,‘हामीसँग सीमित स्रोत र साधन छ, ती स्रोत र साधनको प्रयोगले यो क्षेत्रलाई समृद्ध बनाउनु छ। हामीले ५ वर्षमा के गर्यौँ भन्दा पनि अब के गर्ने भन्ने भिजनसहित म दोस्रो पटक तपाईंकहाँ आएको हुँ।’

उनले मतदातासँग आउँदो सरकार गठबन्धनकै बन्ने र त्यसमा आफूले महत्वपूर्ण मन्त्रालय पाउने विश्वासमा छन्। मिलनसार र तार्किक स्वभावले उनी कांग्रेससँग सजिलै घुलमिल भएका छन्। गठबन्धनको र युवा हुनु उनको सवल  पक्ष हो। 

तर, जित्नको लागि त्यतिमात्र काफी छैन। खगराज आफैँमा खारिएका नेता हुन्। कास्की क्षेत्र नम्बर १ मा भिजेका खगराजलाई एमालेले मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ।

देखेको कुरा बोलिहाल्ने, आफ्नो गुटका मान्छेलाई सधैँ च्याप्ने खगराजको लागि मरिहत्ते गर्ने कार्यकर्ताको पंक्ति ठूलो छ। एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र खगराजको सवल पक्ष भनेको कार्यकर्तासँगको सामिप्यता नै हो। २०४८ सालदेखि चुनाव लडेका र ३ पटक हार र २ पटक जितको स्वाद चाखेका उनले प्रदेशको समृद्धि र आफ्नो चुनावी क्षेत्रको विकासलाई मुख्य चुनावी एजेण्डा बनाएका छन्।

आफ्नै क्षेत्रका मुख्यमन्त्री हुँदा विकासे योजना आउला भन्ने आशा गर्नेहरुबाट खगराजले बढी नै आशा राखेका छन्। ‘माया मारेको मान्छे’ शीषर्कमा लेखिएको आफ्नो संस्मरणमा पारिवारिक सम्बन्धबारे तीतो र केपी ओलीबारे मीठो टिप्पणी गरेका खगराज यतिबेला जितकै लागि बढी संयम देखिएका छन्। 

कास्की क्षेत्र नम्बर १ (क) मा रुपा गाउँपालिकाका र पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ वडा रहेका छन्। रुपा एमालेको गढको रुपमा चिनिन्छ। जहाँ खगराजको प्रभाव ज्यादा छ। पोखराको ३१ नम्बर खगराजकै वडा हो।

स्थानीय चुनावको परिणाम हेर्ने हो भने खगराजलाई आफ्नै वडाले साथ दिएको छैन। त्यहाँ कांग्रेसबाट वडाध्यक्ष विजेता ढकनाथ कँडेलले एमालेका चिरञ्जीवी बञ्जरालाई १६१ मतले हराएका थिए। यद्यपि, वडा सदस्यहरुमा भने ४ जना नै एमालेका उम्मेदवार विजयी भए।

त्यो बेला वडाध्यक्षको पराजयलाई खगराजको पराजयको रुपमा हेरिएको थियो। सो  निर्वाचन क्षेत्रमा पर्ने पोखरा महानगरका वडामध्ये २९ मा मात्र एमाले विजयी भएको थियो। स्थानीय चुनावको नतिजा अनुसार त्यहाँ गठबन्धन करिब ५ सय मतले अगाडि छ। तर, वडाध्यक्षले पाएको मत प्रदेश  र संघीय चुनावमा त्यही चुनाव चिह्नमा नै जान्छ भन्ने ग्यारेण्टी हुँदैन। 

अघिल्लो चुनावको नतिजा हेर्ने हो भने सो क्षेत्रबाट  दीपक कोइरालाले १८ हजार ७२७ र उनका प्रतिस्पर्धी कांग्रेसका जीवन परियार १५ हजार ८१ मत प्राप्त गरेका थिए। यो पटक मतदाता बढेका छन्। दीपकको पक्षमा गएको मतमध्ये कति एमालेको हो भन्ने प्रष्ट छैन। अघिल्लो चुनावमा प्रतिस्पर्धी कांग्रेसका यज्ञबहादुर थापालाई १३ हजार ४१६ मतान्तरले हराउँदै संघीय संसद पुगेका खगराजले दीपकलाई खसेको मतमध्ये धेरै आफ्नै भएको आकलन गरेका छन्। 

गण्डकीमा गठबन्धन बलियो देखिएको छ। आफ्नो विजयसँगै गठबन्धन अगाडि हुँदा ज्यान हत्केलामा राखेर युद्धमा होमिएका दीपक कम्तिमा शक्तिशाली मन्त्री र उनकै भाषामा ‘माया मारिएका’खगराजसँगै एमालेको बहुमत आएमा खगराज गण्डकीका तेस्रो मुख्यमन्त्री बन्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .