बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गरिरहेका छन्। उनले दूध उत्पादन गरे पनि बिक्री हुँदैन। छिमेकी ब्राह्मण, क्षेत्री र मगर समुदायले उत्पादन गरेको दूध सहकारी तथा दूध डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन्।
सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन गरिरहेका भए पनि बिक्री नहुँदा निराश छन्। गाउँमै दुग्ध सहकारी भए पनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेको उनीहरुको गुनासो छ।
दूध बिक्री नभएपछि दलित समुदायका किसानले घीउ बनाउने गरेको चन्द्रबहादुरले बताए। दैनिक १० लिटर दूध उत्पादन गर्ने गरेको जानकारी दिँदै उनले बिक्री नहुँदा घर खर्च चलाउन गाह्रो हुने गरेको बताए। चन्द्रबहादुरले छिमेकीले दूध बेचेर वार्षिक लाखौँ कमाउने गरे पनि आफूहरुको दूध बिक्री नहुँदा आम्दानी गर्न नसकेको दुखेसो पोखे। जातीय छुवाछूत र विभेदकै कारण आफूहरुले उत्पादन गरेको दूध बिक्री नभएको उनको भनाइ छ।
‘दलित समुदायले उत्पादन गरेको दूध बिक्री नहुँदा धेरैलाई दुःखी बनाएको छ, गाउँबाट दिनदिनै अरुले उत्पादन गरेको सयौँ लिटर दूध बिक्री हुन्छ’, विकले भने, ‘यहाँ हामी सात घर परिवार छौँ। सबैले पाँच-१० लिटर दूध दैनिक उत्पादन गर्छन्। उत्पादन भएको आधा दूध बिक्री भए पनि छोराछोरीलाई कापी कलमको खर्च हुन्थ्यो। नुन, चामल खाने पैसा हुन्थ्यो, हाम्रो समस्या कसलाई सुनाउने?’
गाउँमा आफूहरुले उत्पादन गरेको दूध अरूको सँग मिसाउँदा गाडी दुर्घटना हुन्छ भन्ने गरेको उनले सुनाए। दलित समुदायलाई भेदभाव गरेर सहकारी र स्थानीयले दूध नकिन्ने उनको भनाइ छ। दूध बिक्री नभएपछि अचेल भैँसीपालन पनि कम गर्न थालेको विकले बताए।
चन्द्रबहादुरजस्तै बागलुङमा दलित समुदायका धेरै परिवारले उत्पादन गरेको दूध बिक्री हुँदैन। जिल्लामा सञ्चालित दुग्ध सहकारीमा बारम्बार दूध मिसाउन आवाज उठाउँदा सुनुवाइ नभएको दलित किसान बताउँछन्।
दलितहरुले उत्पादन गरेको तरकारी, फलफूल, बाख्रा, कुखुरालगायत वस्तु बिक्री हुने गरे पनि दूध बिक्री गर्न मुस्किल पर्ने निसीखोलाका पूर्णबहादुर परियारले बताए। सरकारले डेढ दशकअगाडि छुवाछूतमुक्त मुलुक घोषणा गरे पनि अहिलेसम्म दलित समुदायले निकै विभेद खेप्नु परिरहेको गुनासो उनले गरे।
दूध उत्पादक सहकारी सङ्घ बागलुङका अध्यक्ष दीपकराज गौतमले गाउँगाउँबाट सहकारीले सङ्कलन गरेर ल्याएको दूध आफूहरुले बिक्री वितरण गरिरहेको बताए। गाउँबाट सहकारी संस्थाहरुले क–कसको दूध ल्याउँछन् भन्ने जानकारी नभएको भन्दै सबै समुदायको दूध आफूहरुले बिक्री गरिरहेको उनको भनाइ छ। दूध उत्पादन, प्रशोधन र बजारीकरण गरिरहेको सङ्घले कसैलाई विभेद नगर्ने अध्यक्ष गौतमले बताए। उनका अनुसार दुग्ध उत्पादक सङ्घमा हाल १४ दुग्ध सहकारी संस्था आबद्ध छन्। दैनिक दुई हजार पाँच सय लिटर दूध बिक्री वितरण हुने गरेको र सङ्घमा झन्डै एक हजार पाँच सय कृषक आबद्ध रहेको गौतमले जानकारी दिए। सहकारीले अहिले काठेखोला गाउँपालिका, बागलुङ र जैमिनी नगरपालिकाका कृषकले उत्पादन गरेको दूध सङ्कलन गर्ने गरेको उनले बताए।
अध्यक्ष गौतमका अनुसार मासिक ६० देखि ८० लाखको कारोबार गर्ने गरेको छ। बिक्री नभएको दूधबाट दही, पनिर, छुर्पीलगायत परिकार बनाई बिक्री वितरण गर्ने गरेको उनको भनाइ छ।
अध्यक्ष गौतमले भने, ‘हामीले सबैको दूध राख्छौँ, गाउँगाउँका सहकारी संस्थाले ककसको दूध ल्याउँछन्, त्यो हामीलाई थाहा हुँदैन, हाम्रो सहकारी सङ्घमा आबद्ध भएका जनसुकै किसानको दूध हामीले ल्याउँछौँ, बजारका उपभोक्ताले माग गरेको सबै ठाउँमा पुर्याउँछौँ, बिक्री वितरण गरेर बाँकी रहेको दूधलाई प्रशोधन गरेर विभिन्न परिकार बनाउने गरेका छौँ।’
बागलुङमा सबैभन्दा बढी दूध उत्पादन काठेखोला गाउँपालिकाका साथै बागलुङ र जैमिनी नगरपालिकामा हुने गरेको छ।
Shares
प्रतिक्रिया