गण्डकी


आलु प्रवर्द्धनका लागि पोखराको हेमजामा महोत्सव

आलु प्रवर्द्धनका लागि पोखराको हेमजामा महोत्सव

नेपालखबर
चैत २५, २०८० आइतबार २१:१४, पोखरा

पोखराको उत्तरतिर पर्ने वडा नम्बर २५ सिँचाइसहितको मलिलो र समथर भू–भागको रुपमा परिचित छ। त्यहाँका किसानहरूले वर्षौंदेखि आलु खेती गर्दै आएका छन्।

आलुखेतीकै कारण हेमजा चिनिएको पनि छ। पोखरा महानगरले हेमजालाई आलु पकेट क्षेत्र घोषणा पनि गरेको छ।

कास्कीमा १ हजार २५३ हेक्टरमा आलु खेती गरिन्छ। जसबाट वार्षिक २१ हजार ५१० टन उत्पादन हुँदा हेमजाले ५ हजार टन उत्पादन गर्छ। हेमजामा एमएस २२,जनकदेव, खुमलटार रातोलगायतका आलु खेती गरिन्छ।

आलुको समर्थन मूल्य तोेकेको छ भने हेमजालाई पकेट क्षेत्र घोषणा गरेको छ। हेमजामा करिव ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएकोमा करिव १५ करोड रुपैयाँको कारोबार हुने गरेको महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

त्यही हेमजाको आलु प्रवद्र्धनको लागि आइतबारबाट १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ।

‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ आलु महोत्सव आयोजना गरिएको हो।

महोत्सव पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे। उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै कहेमजाको सिंचाइ व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपुरक योजनामा चौरासी नहर पूनर्निर्माणलाई अगाडि सारेको बताए।

महानगर प्रवक्तासमेत रहेको पोखरा २५ हेमजाका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलुले हेमजाको पहिचान दिएको बताए।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले आलुका परिकारलाई मूल्य श्रृंखलामा जोड्न सके किसानको आर्थिक अवस्था सुधारिने धारणा राखे।

महोत्सव सुरु हुनुपूर्व स्थानीय माइस्थानबाट बाजागाजासहित शोभायात्रा एवम् झाँकी ‍र्‍याली निकालिएको थियो।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तरक्रिया, विभिन्न कृषि उपज, बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कारलगायतका मनोरञ्जनात्मक गतिविधि समेटिएका छन्।

महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोबार भइरहेको छ भने करिव ८० टन आलु बिक्री–वितरण हुने आयोजकको अपेक्षा छ। महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .