गण्डकी


कास्की अदालतमा रविसहित सबै प्रतिवादीको बहस सकियो, जवाफी बहस सुरु

कास्की अदालतमा रविसहित सबै प्रतिवादीको बहस सकियो, जवाफी बहस सुरु

छविलाल बन्जाडे र रवि लामिछाने


नेपालखबर
पुस २४, २०८१ बुधबार १४:३०, पोखरा (कास्की)

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित सबै अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको एकसरो बहस सकिएको हो।

आजै जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेले नेपालखबरलाई जानकारी दिइन्। उनका अनुसार, सरकारी वकिलको जवाफी बहस भने भोलि (बिहीबार) मात्र हुनेछ।

बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ।

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। सरकारी वकिल र पीडित जाहेरवालाले उनलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन्।

लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अदालतमा अभियोगपत्रसाथ उपस्थित गराइएको छ।

विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad