गण्डकी


गगन निकट नन्दप्रसाद मन्त्री, प्रमुख सचेतकमा प्रकाशको बढुवा

गगन निकट नन्दप्रसाद मन्त्री, प्रमुख सचेतकमा प्रकाशको बढुवा

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार २०:४५, पोखरा

नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी प्रकाश बरालले पाएका छन्। गण्डकीका मुख्यमन्त्री तथा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बराललाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पेका हुन्। कास्की क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित सभासद बराल यसअघि सचेतकको भूमिकामा थिए। 

यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि प्रमुख सचेतक पद रिक्त थियो। मुख्यमन्त्री पाण्डेले यही वैशाख २ गते एकाएक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। सो उपक्रममा पुराना मन्त्रीलाई बिदा गरेपछि न्यौपानेले महत्वपूर्ण जिम्मेवारी पाएका थिए।

न्यौपानेसँगै मुख्यमन्त्रीले बागलुङ कांग्रेसका सभापतिसमेत रहेका जीतप्रसाद शेरचनलाई आर्थिक मामिला, पर्वतकी रेखा गुरुङलाई सामाजिक विकास र मुस्ताङका नम्डु गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। यी ३ जनाले नै मुख्यमन्त्री पाण्डेलाई संसदीय दलको नेता बन्ने क्रममा सघाएका थिए।

कांग्रेसको विशेष महाधिवेशनपछि चाहिँ परिस्थिति फेरिएको थियो। न्यौपाने अहिलेका कांग्रेस सभापति गगन निकट रहँदै आएका छन्। गोर्खा कांग्रेसका सभापतिसमेत रहेका उनको फरक खेमामा रहेका मुख्यमन्त्री पाण्डेसँग पनि हिमचिम नै थियो। त्यही हिमचिमका कारण उनले संसदीय दलको चुनाव हुँदा पनि पाण्डेलाई सघाएका थिए।

मुख्यमन्त्री पाण्डेले पार्टीभित्रको फेरिएको राजनीतिक सन्तुलन मिलाउनका निम्ति गोर्खाका न्यौपानेलाई मन्त्री बनाए। रेखा र नम्डु पनि पछिल्लो विशेष महाधिवेशन पक्षधर नै थिए। मुख्यमन्त्री पाण्डे भने विशेष महाधिवेशनभन्दा अगाडि केन्द्रीय सदस्यमात्र थिएनन्, संस्थापनका खम्बा नै मानिन्थे।

तर, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि सभापति गगन थापा पोखरा आउँदा उनी एयरपोर्टमा फूलमाला लिएर पुगेका थिए। सभापति थापासँग मुख्यमन्त्रीलाई जोड्ने काम न्यौपानेको थियो।

कांग्रेसको नयाँ नेतृत्वसँग छलफलबिनै मन्त्रिपरिषद् पुनर्गठन गरेका मुख्यमन्त्रीले गण्डकीको हकमा चाहिँ गण्डकी सभापति शुक्रराज शर्मा र पूर्वकेन्द्रीय सदस्य रोमी गौचनलाई पनि दाहिना बनाए। रोमीको सिफारिसमा नम्डु मन्त्री बने।

अहिले प्रमुख सचेतक बनेका प्रकाश चाहिँ गण्डकी सभापति शुक्रराजका खास मान्छे हुन्। नेपाली कांग्रेस गण्डकीको प्रदेश कार्यालय प्रमुखको भूमिकासमेत निभाएका उनी मन्त्री बन्न चाहन्थे। यसअघि उनलाई मन्त्री बनाउने कोसिस पनि भएको थियो तर त्यो बेलाको भिन्न परिस्थितिमा उनी मन्त्री बन्न पाएनन्।

शुक्रराजको आशिर्वाद पाएका उनी सचेतक चाहिँ बने। मंगलबार बराल प्रमुख सचेतकमा उक्लिएपछि सचेतक पद रिक्त बनेको छ। सो पदमा कांग्रेसका धेरै सभासदले आँखा गाडेका छन्।

प्राविधिक रुपम हेर्दा प्रमुख सचेतकको सिफारिसमा दलका नेताले सचेतक नियुक्त गर्ने प्रावधान छ। तर, त्यसमा मुख्यमन्त्री पाण्डेकै रुचीले काम गर्ने निश्चित भएको स्रोतले बतायो। संसदीय दलमा आफूविरुद्धको आवाज कमजोर बनाउनका निम्ति मुख्यमन्त्री पाण्डेले कुनै असन्तुष्टलाई त्यो पद दिनसक्ने स्रोतको भनाइ छ। 

उता, एमालेमा पनि प्रमुख सचेतक पद खाली छ। एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएसँगै खाली भएको सो पदमा एमालेको तर्फबाट को आउँछ भन्ने टुंगो छैन।

यद्यपि, संसदीय दलका नेता खगराज अधिकारीको चाहना अनुसार नै त्यो पद पूर्ति हुने एमाले स्रोतको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad