ad ad

ग्लोबल


बाइडेनले भनेः निरन्तर युद्धको युग अन्त्य गरेर अथक कूटनीतिको युग सुरु गर्दैछौँ

बाइडेनले भनेः निरन्तर युद्धको युग अन्त्य गरेर अथक कूटनीतिको युग सुरु गर्दैछौँ

नेपालखबर
असोज ५, २०७८ मंगलबार २०:२०, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘निरन्तर युद्धको युग’ समाप्त गरेर अमेरिकाले ‘अथक कूटनीतिको नयाँ युग’ सुरु गरिरहेको बताएका छन्। 

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले विगतको युद्ध लड्न छाडेर अमेरिका भविष्यतर्फ केन्द्रित हुने बताए।

‘विगतको युद्धलाई निरन्तरता दिनुको सट्टा हामी आफ्नो ध्यान हाम्रो सामूहिक भविष्यमाथि आइपर्ने चुनौतीतिर केन्द्रित गर्दैछौँ। यो महामारीको अन्त्य, जलवायु संकटको सम्बोधन, बदलिँदो विश्वव्यापी शक्ति सन्तुलनको व्यवस्थापन, व्यापार, साइबर र उदाउँदा प्रविधिजस्ता महत्वपूर्ण मुद्दाहरुमा विश्वको नियम निर्माण र आतंकवादको सामनाजस्ता चुनौती हामीसामु छन्,’ बाइडेनले भने।

‘हामीले अफगानिस्तानको २० वर्षे द्वन्द्व समाप्त गरेका छौँ। र, यो निरन्तर युद्धको युग समाप्त गर्दै गर्दा हामीले अथक कूटनीतिको नयाँ युग सुरुवात गरिरहेका छौँ,’ उनले भने।

अगस्ट महिनामा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको थियो।

उनले अमेरिकाको ध्यान अब इन्डो–प्यासिफिक क्षेत्रमा केन्द्रित हुने र आफ्ना सहयोगी मुलुक तथा राष्ट्र संघसँग मिलेर काम गर्ने बताए।

‘अमेरिकाले आफ्नो ध्यान ती प्राथमिकता र इन्डो प्यासिफिकजस्ता क्षेत्रमा केन्द्रित गर्नेछ, जुन आज र भोलिका लागि पनि निकै महत्वपूर्ण छन्,’ बाइडेनले भने।

विश्वव्यापी व्यापार र आर्थिक वृद्धिका विषयमा नयाँ नियम बनाउने उनको भनाइ थियो।

बाइडेनले आफ्ना सहयोगी मुलुकहरुलाई आश्वस्त तुल्याउने प्रयास पनि गरे। उनले अमेरिकाले फेरि अन्तर्राष्ट्रिय मुद्दाहरुमा नेतृत्वदायी भूमिका खेल्ने बताए।

‘हाम्रा साझा चुनौतीविरुद्ध कदम चाल्न हामी अन्तर्राष्ट्रिय मञ्चहरुको टेबलमा फर्केका छौँ, खासगरी राष्ट्रसंघको,’ बाइडेनले भने। 

उनले नेटो, युरोपेली युनियन, आसियान र क्वाडजस्ता गठबन्धन र समूहरुको नाम लिँदै आज र भोलिका चुनौतीसँग लड्न ती मुलुकसँग साझेदारी गर्ने बताए। 

बाइडेनले अमेरिका नयाँ शीतयुद्ध सुरु गर्ने पक्षमा नरहेको बताएका छन्। यद्यपि उनले चीनको नाम नलिई प्रतिस्पर्धा भने गर्ने बताए।

‘अमेरिकाले प्रतिस्पर्धा गर्नेछ। जोडदार रुपमा प्रतिस्पर्धा गर्नेछ। र, हाम्रा मूल्यमान्यता र शक्तिका आधारमा नेतृत्व गर्नेछ,’ बाइडेनले भने, ‘हामी नयाँ शीतयुद्ध चाहँदैनौँ। विश्व दुई धारमा विभाजित होस् भन्ने चाहँदैनौँ,’ उनले भने।

‘२० वर्षमा पहिलो पटक अमेरिका युद्धमा सहभागी नभएका बेला म यहाँ उभिएको छु। हामीले नयाँ युग सुरु गरेका छौँ,’ उनले थपे।

जलवायु परिवर्तनसम्बन्धी कदम चाल्न विकासशील मुलुकलाई सहयोग गर्ने उदेश्यले एक सय अर्ब डलर परिचालन गरिने पनि उनले बताए।

यो विश्वका लागि निर्णायक दशक भएको उनको भनाइ थियो। 

‘यो हाम्रो विश्वका लागि निर्णायक दशक हो, जसले हाम्रो भविष्य निर्धारण गर्नेछ,’ बाइडेनले भने।

उनले कोभिड–१९ महामारीलाई परास्त गर्न र भविष्यका महामारीका लागि तयारी गर्न अन्य मुलुकसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .