ad ad

ग्लोबल


अमेरिका एआईमा चीनसँग हारिसक्योः पेन्टागनका पूर्वअधिकारी

अमेरिका एआईमा चीनसँग हारिसक्योः पेन्टागनका पूर्वअधिकारी

नेपालखबर
असोज २५, २०७८ सोमबार १६:२६, काठमाडौँ

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रमुख सफ्टवेयर अफिसर पदबाट हालै राजीनामा दिएका निकोलस सैयानले आर्टिफिसियल इन्टेलिजेन्सको प्रतिस्पर्धामा अमेरिका चीनसँग हारिसकेको बताएका छन्। 

चीनले अमेरिकालाई उछिनेको देख्न नसकेर आफूले सो पदबाट राजीनामा दिएको उनको भनाइ छ। 

अमेरिकी रक्षा मन्त्रालयबाट एक साताअघि बाहिरिएका उनले पहिलो पटक फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिएका हुन्। उनले सेप्टेम्बरको सुरुमा अनुभवहीन सैन्य अधिकारीहरुलाई साइबर क्षेत्रको नेतृत्व दिने गरिएको र बजेट अभावमा पेन्टागन पछि परेको गुनासो गर्दै राजीनामा घोषणा गरेका थिए। 

‘अबको १५ या २० वर्षमा हामीले चीनसँग लड्नसक्ने सम्भावना छैन। पहिले नै यसको टुंगो लागिसकेको छ। मेरो विचारमा सबैथोक समाप्त भइसक्यो,’ उनले भने।

पेन्टागनमा तीन वर्ष बिताएका ३७ वर्षे सैयानले चीन आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ साइबर क्षमताका कारण विश्वव्यापी प्रभुत्वको दिशामा अघि बढिरहेको बताए। 

ठूलो बजेटमा तयार गरिएका पाँचौँ पुस्ताका एफ–३५ लडाकु विमानजस्ता हार्डवेयरभन्दा उदाउँदा प्रविधिहरु भविष्यका लागि बढी महत्वपूर्ण र निर्णायक हुने उनको भनाइ छ। 

‘भविष्यमा चीन विश्वभर हावी हुने निश्चित छ। उसले सञ्चारमाध्यमको भाष्यदेखि भूराजनीतिसम्म हरेक थोक नियन्त्रण गर्नेछ। त्यसका लागि युद्ध नै हुन्छ या हुँदैन, यसै भन्न सकिँदैन,’ उनले भने। 

अमेरिकाको केही सरकारी मन्त्रालयहरुमा साइबर प्रतिरक्षा ‘किन्डरगार्टेनको तहमा’ मात्र रहेको उनले बताए। 

एआईका क्षेत्रमा गुगलले पेन्टागनसँग मिलेर काम गर्न नमानेको, नैतिकतासम्बन्धी बहस ज्यादा हुनुजस्ता कारणले अमेरिका पछि परेको उनको ठम्याइ छ। त्यसविपरीत चिनियाँ कम्पनीहरुले सरकारसँग मिलेर काम गरिरहेको र नैतिकताको ख्याल नगरी एआईमा विशाल लगानी गरिरहेको उनले बताए।

अमेरिकाको रक्षा बजेट चीनको भन्दा तीन गुणा बढी भए पनि खरिद प्रक्रिया खर्चिलो भएको र बजेट गलत क्षेत्रमा खर्च भइरहेको उनको आरोप छ।  

यसै वर्ष अमेरिकाको राष्ट्रिय सुरक्षासम्बन्धी एक आयोगले एक दशकभित्र एआईका क्षेत्रमा चीनले अमेरिकालाई उछिन्ने चेतावनी दिएको थियो। फाइनान्सियल टाइम्सबाट

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .