ad ad

ग्लोबल


हाइपरसोनिक हतियारमा रुस र चीनभन्दा पछि पर्‍यो अमेरिका, परीक्षण फेरि असफल

हाइपरसोनिक हतियारमा रुस र चीनभन्दा पछि पर्‍यो अमेरिका, परीक्षण फेरि असफल

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १५:४५, काठमाडौँ

हाइपरसोनिक हतियार विकास गर्ने प्रतिस्पर्धामा अमेरिका चीन र रुसभन्दा पछि परेको छ। हाइपरसोनिक हतियार राखेर प्रक्षेपण गर्ने ‘बुस्टर रकेट’ परीक्षणका क्रममा असफल भएको अमेरिकी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ। 

अलास्काको कोडियाकस्थित प्यासिफिक स्पेसपोर्ट कम्प्लेक्समा सो परीक्षण गरिएको थियो। 

आवाजभन्दा पाँच गुणा तीव्र गतिमा उड्ने हतियारलाई हाइपरसोनिक भन्ने गरिन्छ। रकेट असफल भएपछि हतियार परीक्षण हुन नसकेको जनाइएको छ। 

सो असफलताको समीक्षा सुरु भइसकेको बताइएको छ। यसअघि अप्रिलमा पनि अमेरिकी परीक्षण असफल भएको थियो। 

अमेरिकी रक्षा मन्त्रालयले हाइपरसोनिक हतियार विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ। किनभने चीन र रुसले पनि सोही प्रविधि विकास गरिरहेका छन्।

चीनले गत अगस्टमा सो हतियारको सफल परीक्षण गरेको केही दिनअघि मात्र खुलासा भएको थियो। यसकारण पनि यो असफलताबाट अमेरिकालाई गम्भीर धक्का लागेको छ। 

हाइपरसोनिक हतियारलाई रोक्न कठिन हुन्छ। त्यसैले यो क्षेप्यास्त्र प्रतिरोधी प्रणालीका लागि निकै ठूलो खतरा हो। ब्यालिस्टिक क्षेप्यास्त्रको प्रक्षेपण पथ निकै उच्च हुने हुनाले त्यसलाई सजिलै पत्ता लगाउन सकिन्छ।

तर, त्यसविपरीत हाइपरसोनिक हतियारको प्रक्षेपण पथ धेरै होचो हुनुका साथै यसले आफ्नो मार्ग परिवर्तन समेत गर्न सक्ने हुनाले प्रतिरक्षा प्रणालीले यसलाई रोक्न कठिन हुन्छ।

केही दिनअघि फाइनान्सियल टाइम्सले चीनले हाइपरसोनिक हतियारको सफल परीक्षण गरेको रिपोर्ट प्रकाशित गरेको थियो। चीनले त्यसलाई अन्तरीक्ष यानको नियमित परीक्षण भन्दै अस्वीकार गरेको थियो।

तर, अमेरिकी रक्षा अधिकारीहरुले चिनियाँ हाइपरसोनिक हतियारप्रति चिन्ता व्यक्त गरेका छन्। किनभने यो हतियार भएपछि चीनले पृथ्वीको दक्षिणी ध्रुवतिरबाट पनि अमेरिकामाथि आक्रमण गर्न सक्छ। जबकि सामान्यतः अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली उत्तरी ध्रुवबाट आउने क्षेप्यास्त्रतर्फ लक्षित गरी राखिएको छ। 

त्यस्तै, दुई साताअघि रुसले पनि पन्डुब्बी जहाजबाट हाइपरसोनिक हतियारको सफल परीक्षण गरेको जनाएको थियो। यसअघि रुसले जमिन र युद्धपोतबाट पनि सो हतियारको परीक्षण गरिसकेको छ।

अमेरिकाले पनि चाँडै नै सो हतियार तयार गर्ने बताएको छ। एजेन्सी 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .