अमेरिकी सेनाले सिरियामा गरिएको ड्रोन आक्रमणमा अल कायदाका वरिष्ठ नेता अब्दुल हामिद अल मतार मारिएको दाबी गरेको छ।
अमेरिकाको सेन्ट्रल कमाण्डका प्रवक्ताका अनुसार यो आक्रमणमा अन्य मानिसको मृत्यु भएको खुलेको छैन। अमेरिकाले एमक्यु–९ ड्रोन प्रयोग गरी सिरियामा आक्रमण गरेको थियो। दुईदिनअघि मात्र सिरियाको दक्षिणी क्षेत्रमा अमेरिकी आउटपोस्टमा यसअघि आक्रमण भएको थियो।
अल कायदाका वरिष्ठ नेता मारिएसँगै अब सिरियामा आतंकवादी समूहको गतिविधि पनि घट्ने विश्वास अमेरिकाले लिएको छ।
अल कायदाले पछिल्लो समय सिरियालाई आफ्नो सुरक्षित भूमिको रुपमा प्रयोग गरिरहेको अमेरिकाले बताएको छ।
गत सेप्टेम्बरमा पनि अमेरिकी सेनाले सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो। उक्त आक्रमणमा अल कायदाका अर्का नेता सालिम अबु अहमद मारिएका थिए।
लामो समयदेखि सिरियामा गृहयुद्ध चलिरहेको छ। जसमा विभिन्न समूहले भाग लिएका छन्। यो युद्धमा अहिलेसम्म करिब पाँच लाख मानिसको मृत्यु भइसकेको छ।
Shares
प्रतिक्रिया