अमेरिकाले समेत टाउकाको मूल्य ५० लाख डलर तोकेका कोलम्बियाका कुख्यात् लागुऔषध तस्करलाई गिरफ्तार गरिएको छ।
त्यहाँका सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिबारर सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको हो।
कोलम्बियाले उनीबारे जानकारी दिनेलाई ८ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो भने अमेरिकाले उनको टाउकाको मूल्य ५० लाख डलर तोकेको थियो।
कोलम्बियाका राष्ट्रपति इभान ड्युकले यसबारे टेलिभिजन सन्देशमा भनेका छन्, ‘हाम्रो देशमा लागुऔषध तस्करीविरुद्धको यो कारबाही यो शताब्दीकै ठूलो सफलता हो।’
हालैका वर्षमा ५० वर्षीय ओटोनिएललाई पक्रन सयौं प्रहरी परिचालन गर्दा पनि सफल भएको थिएन।
ओटोनिएललाई पानामाको सीमानजिकै उत्तर–पश्चिमी कोलम्बियाको ग्रामीण भेगबाट गिरफ्तार गरिएको हो। पक्राउबारे विस्तृत विवरण आउन बाँकी छ, तर यस क्रममा एक जना प्रहरी मारिएको राष्ट्रपतिले बताएका छन्।
कोलम्बियाको सशस्त्र सुरक्षा निकायले उनी गिरफ्तार भएको तस्बिर सार्वजनिक गरेको छ। जसमा ती अभियुक्त सैनिकको बीचमा हतकडी लगाएको देखिन्छ।
बीबीसीका अनुसार १० वर्षअघि आफ्ना दाइ नयाँ वर्षको उत्सव मनाइरहेका बेला प्रहरीबाट मारिएपछि ओटोनिएल ‘गल्फ क्लान’ समूहको प्रमुख बनेका थिए।
जसलाई कोलम्बियाको सुरक्षा निकायले देशको सबैभन्दा शक्तिशाली आपराधिक संगठन भनेको छ भने अमेरिकी निकायले यसलाई ‘अत्यन्त हिंस्रक’ समूह ठानेको छ।
कोलम्बियाका धेरै प्रान्तमा संगठन रहेको तथा व्यापक अन्तर्राष्ट्रिय सम्बन्ध रहेको उक्त समूह लागुऔषध र मानव तस्करी, सुन उत्खनन र पैसा असुलीमा संलग्न छ।
‘गल्फ क्लान’ समूहमा झन्डै १ हजार ८ सय जना सशस्त्र सदस्य रहेको बताइन्छ। यसका सदस्य अर्जेन्टिना, ब्राजिल, होन्डुरस, पेरु र स्पेनजस्ता टाढाका देशमा पक्राउ परेका छन्।
उक्त गिरोहले कोलम्बियाबाट अमेरिका र रुससम्म लागुऔषध तस्करी गर्ने गरेको छ।
Shares
प्रतिक्रिया