ad ad

ग्लोबल


चिनियाँ टेनिस स्टार पेङले ओलम्पिक कमिटी अध्यक्षसँग भनिन्ः म सकुशल छु

चिनियाँ टेनिस स्टार पेङले ओलम्पिक कमिटी अध्यक्षसँग भनिन्ः म सकुशल छु

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १९:२८, काठमाडौँ

चिनियाँ टेनिस स्टार पेङ सुआइले आफू सकुशल रहेको बताएकी छन्। तीन साताअघि एक पूर्व प्रधानमन्त्रीवरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएर मौन बसेपछि पेङको स्थितिबारे अन्तर्राष्ट्रिय चासो उत्पन्न भएको थियो।

तर, आइतबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्षसँग भिडिओ कन्फ्रेन्स गर्दै पेङले आफू सुरक्षित रहेको बताएकी हुन्। कमिटीका अध्यक्ष थोमस बाखसँग कुरा गर्दै गरेकी पेङको तस्बिर सार्वजनिक गरिएको छ। 

आफूप्रति व्यक्त चासोका लागि धन्यवाद दिँदै पेङले आफू बेइजिङस्थित घरमै रहेको बताएकी छन्। 
सो भिडिओ कन्फ्रेन्समा ओलम्पिक एथलेट्स कमिसनकी अध्यक्ष एम्मा टेर्हो र कमिटीकी सदस्य ली लिङवेइ पनि सहभागी थिए। 

के थियो पेङले लगाएको आरोप?
नोभेम्बर २ मा ३५ वर्षीया पेङले सामाजिक सञ्जाल वेइबोमा चीनका पूर्वप्रधानमन्त्री चाङ चेइलीले आफूलाई यौन सम्पर्क राख्न बाध्य बनाएको आरोप लगाएकी थिइन्। 

पेङले खुला पत्र शैलीमा करिब १६ सय शब्दको लामो पोस्ट गर्दै ७५ वर्षे चाङसँग आफू पटकपटक गरी कम्तीमा १० वर्ष सम्बन्धमा रहेको उल्लेख गरेकी थिइन्। 

पेङले आफ्नो पोस्टमा चाङसँग १० वर्षअघि पहिलो पटक यौन सम्बन्ध कायम गरेको दाबी गरेकी थिइन्। त्यसबेला चाङ बेइजिङको दक्षिणपूर्वमा पर्ने तियानजिनका कम्युनिस्ट पार्टी प्रमुख थिए। 

त्यो यौन सम्बन्ध सहमतिमै थियो वा अन्याथा, पेङले खुलाएकी छैनन्।

तर, पोलिटब्युरो सदस्यमा बढुवा भएपछि चाङले आफूसँगको सम्बन्ध टुटाएको पेङको भनाइ छ। 

चाङ २०१३ मा चीनको उपप्रधानमन्त्री बने। २०१८ मा उनले अवकाश पनि लिए। त्यसपछि चाङले अचानक आफूलाई बेइजिङमा टेनिस खेल्न निम्त्याएको पेङले बताएकी थिइन्। 

खेलपछि चाङ र उनकी पत्नीले आफूलाई उनीहरुको घर लगेको र त्यहाँ यौन सम्बन्धका लागि दबाब दिएको पोस्टमा उल्लेख थियो।

‘त्यो दिन दिउँसो सुरुमा मैले मानिनँ। म रोइरहेकी थिएँ,’ पेङले लेखेकी थिइन्। 

चाङ चेइली

चाङ र उनकी पत्नीसँग रात्रीभोजपछि पनि चाङले धेरै जोड गरेपछि आफूले अडान छाडेको पेङले उल्लेख गरेकी थिइन्। 

‘म आत्तिएकी थिएँ, म डराएकी थिएँ। र, तिमीप्रति सात वर्षअघिको भावनाका कारण म सहमत भएँ,’ उनले लेखेकी थिइन्।

त्यसपछि आफू चाङसँग विवाहेत्तर सम्बन्धमा प्रवेश गरेको पेङले उल्लेख गरेकी थिइन्। तर, त्यो सम्बन्धबाट आफूले ‘अत्यन्त बढी अन्याय र बेइज्जती’ बेहोरेको उनको आरोप थियो। 

यो कुरा खुलासा गर्नुभन्दा एक साताअघि चाङसँग झगडा भएको र चाङले आफूसँग भेट्न अस्वीकार गरेको पेङले आरोप लगाएकी थिइन्।

तर, पेङको पोस्ट आधा घण्टापछि नै वेइबोबाट डिलिट भएको थियो। 

चीनमाथि दबाब
पोस्ट डिलिट भएपछि पेङका तर्फबाट कुनै प्रतिक्रिया आएन। न त चाङ वा चीन सरकारले केही बतायो। समय बित्दै गएपछि पेङको स्थितिप्रति चासो उत्पन्न हुन थाल्यो। अन्तर्राष्ट्रिय संघसंस्था र खेलाडीहरुले उनी कहाँ छिन् भन्दै प्रश्न उठाए।

शुक्रबार संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले पेङको स्थिति सार्वजनिक गर्न र उनले लगाएको आरोपमाथि छानबिन गर्न माग गर्दै विज्ञप्ति निकाल्यो।

अमेरिका, बेलायतलगायत पश्चिमा मुलुकका सरकारहरुले पनि त्यस्तै प्रकृतिका वक्तव्य दिए। आइतबार फ्रान्सका विदेशमन्त्रीले नै पेङलाई सार्वजनिक रुपमा बोल्न दिन चीनसँग आग्रह गरे।

केही अमेरिकी सांसदहरुले त चीनलाई ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्नुपर्नेसम्मका आवाज उठाए। 

यसबीचमा शुक्रबार र शनिबार पेङ सकुशल रहेको भन्दै उनका तस्बिरहरु चिनियाँ पत्रकारहरुले सार्वजनिक गरे। तर, कतिपयले त्यसलाई विश्वास गरेनन्।

यसअघि चीनको ई–कमर्स जायन्ट अलिबाबाका संस्थापक ज्याक मा अचानक गुपचुप बसेपछि उनीबारे पनि निकै चिन्ता व्यक्त गरिएको थियो। तीन महिनासम्म बाहिर नदेखिँदा पश्चिमा सञ्चारमाध्यमले उनलाई बेपत्ता बनाइएको हुनसक्ने अड्कल काटेका थिए। तर, पछि उनी दुरुस्त देखा परेका थिए। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .