चीन, रुस र अमेरिकाबीच आआफ्नो अत्याधुनिक लडाकु विमान बेच्न प्रतिस्पर्धा चर्किंदै गएको छ। थुप्रैले नयाँ शीतयुद्धको सुरुवात भइरहेको बताइरहँदा यो प्रतिस्पर्धाले महत्वपूर्ण रणनीतिक प्रभाव पार्नेछ।
चीनको जे–२० र एफसी–३१, रुसको एसयू–५७ र एसयू–७५ तथा अमेरिकाको एफ–२२ र एफ–३५ लाई पाँचौँ पुस्ताको लडाकु विमान मानिन्छ। जुन, चौथो पुस्ताको विमानभन्दा धेरै हिसाबले उन्नत छ। त्यसैले विश्वभर यस्ता विमानको माग उच्च छ।
दुश्मनले देख्ने सम्भावना कम, उन्नत नेटवर्किङ र डेटा फ्युजन टेक्नोलोजी यी विमानमा विशेषता हुन्।
चीनको एफसी–३१ लडाकु विमान
चीन भविष्यमा एफसी–३१ निर्यात गर्ने योजनामा छ। यद्यपि उसले आफ्ना विमान पाकिस्तान, बंगलादेश, म्यानमार, उत्तर कोरिया र केही अफ्रिकी मुलुकबाहेक अन्यलाई बेच्न सकेको छैन।
रुसले पनि एसयू–५७ बेच्ने तयारी गरेको छ। यूएईसँग मिलेर त्योभन्दा बढी आधुनिक एसयू–७५ उत्पादन गर्ने विषयमा वार्ता पनि गर्दैछ।
यी दुई मुलुकभन्दा अमेरिका निकै अघि छ। अमेरिकाको एफ–३५ विमान १४ मुलुकले उडाइरहेका छन्। १० मुलुकले त उत्पादनमा समेत सहकार्य गरिरहेका छन्।
यी विमान एउटै पुस्ताको भनिए पनि तिनको डिजाइन आआफ्नै हवाई प्रतिरक्षा सिद्धान्तअनुसार गरिएको छ।
चीन र रुसजस्ता महादेशीय शक्तिले आफ्नो प्रतिरक्षालाई हेरेर विमान बनाएका हुन्। त्यसैले यी दुई मुलुकका लडाकु विमान आफ्नो हवाई प्रतिरक्षा सञ्जालसँग एकीकृत हुन्छ।
चीनको जे–२०
अर्कोतिर, अमेरिका टाढाटाढा पुगेर सैन्य अभियान चलाउने मुलुक हो। त्यसैले ऊ लामो दुरीमा प्रहार गर्ने र बलियो प्रतिरक्षा प्रणालीलाई भेद्ने क्षमतामा बढी जोड दिन्छ।
चीन आफ्नो हवाई शक्तिलाई युद्धका अन्य पक्षसँग अभिन्न मान्छ। त्यस्तै, ऊ आकासबाट जमिनमा प्रहार गर्ने खालका सैन्य कारबाहीहरुमा जोड दिन्छ। किनभने त्यसलाई बढी प्रभावकारी, सस्तो र आकासबाटै गरिने हवाई कारबाहीको तुलनामा कम प्रतिक्रियात्मक मानिन्छ।
यही प्राथमिकता उसको जे–२० स्टिल्थ लडाकु विमानमा पनि देखिन्छ। यसलाई लामो दुरीमा जटिल हवाई सुरक्षा भएको स्थानमा आक्रमण गर्न सक्षम बनाइएको छ। यसका सम्भावित मिसनहरुमा धेरै टाढासम्म पुगेर विपक्षीको विमानलाई रोक्नु, जमिनमा वा पानीजहाजमाथि आक्रमण गर्नु हो। दक्षिण चीन सागरमा भविष्यमा हुनसक्ने द्वन्द्वका लागि यी क्षमता अत्यन्त महत्वपूर्ण छन्।
त्यस्तै, जे–२० चीनको मुख्यभूमिको हवाई अखाडाभन्दा निकै टाढा पुगेर आक्रमण गरी फर्केर आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा सुरक्षित फर्किन सक्छ।
रुसको हवाई प्रतिरक्षा सिद्धान्तले तीन तहको प्रणाली अपनाउँछ जसले ‘एन्टी एक्सेस/एरिया डिनायल’ जोन सिर्जना गर्छ।
यो प्रणाली धेरै हदसम्म जमिनबाट आकासमा प्रहार गरिने क्षेप्यास्त्रमा निर्भर हुन्छ। लामो र मध्यम दुरीका क्षेप्यास्त्रले दुश्मनका विमानलाई सो क्षेत्रमा घुस्न दिँदैनन्। अर्कोतिर, सो क्षेप्यास्त्र प्रणालीलाई लाई पनि छोटो दुरीको अर्को क्षेप्यास्त्र प्रणाली वा गनले सुरक्षा दिइरहेको हुन्छ।
रुसको निर्माणाधीन एसयू-७५ को प्रतिकृति
रुसको पाँचौँ पुस्ताका लडाकु विमान यो तहबद्ध हवाई प्रतिरक्षा प्रणालीमा एकीकृत छन्। जसले जमिनमा रहेका हवाई प्रतिरक्षा प्रणालीमाथि आक्रमण गर्न चाहने दुश्मनको विमानलाई खोजीखोजी खसाउँछ।
अमेरिकी सिद्धान्तले भने सबै पक्षको संयुक्त कारबाहीमा जोड दिन्छ। जहाँ अमेरिकी हवाई शक्तिले भौगोलिक सीमाहरुलाई पार गर्छ र दुश्मनको केन्द्रमा छोटो सूचनामा, टाढैबाट, लामो समयसम्म अचुक आक्रमण गर्न सक्छ।
अमेरिकी सिद्धान्तमा हवाई शक्तिले नै सैन्य कारबाहीको नियन्त्रण गरेको हुन्छ। जो सबैखाले सैन्य क्षमतासँग एकीकृत हुनसक्छ र अनेक कार्यक्षेत्रमा सहकार्य गर्न सक्छ।
अमेरिकाको एफ–३५ विमान यही सिद्धान्तको उदाहरण हो। अमेरिकाको वायु सेना, नौसेना र मरिन कर्प्स सबैसँग यो लडाकु विमानको अलगअलग भेरियन्ट छ, जसको क्षमता पनि अलग छ। तर, त्यसको डिजाइन भने एकै छ।
अमेरिकाको एफ–३५
तथापि, यही कारणले एफ–३५ को कुनै एक विशेष भूमिका छैन। त्यसैले एफ–३५ को प्रभावकारितालाई बढाउन अन्य क्षमतासहितको सहायक वातावरण बनाउन आवश्यक हुन्छ।
तसर्थ, चिनियाँ, रुसी र अमेरिकी लडाकु विमान किन्न चाहनेहरुले आफ्नो सैन्य रणनीति, हवाई प्रतिरक्षा सिद्धान्त, क्षमता र प्राविधिक पक्ष पनि विमानको प्रकृतिसँग मिल्दोजुल्दो बनाउनुपर्ने हुन्छ।
त्यसबाहेक समग्र रणनीतिक र राजनीतिक पक्ष पनि छ। यी विमान कुनै मुलुकको सैन्य आवश्यकता वा सिद्धान्तअनुरुप नहुन सक्छन्।
अर्कोतिर, मुलुकहरुको रक्षा बजेट पनि आआफ्नो आर्थिक अवस्थाअनुसार अलगअलग हुन्छन्। जुन, अन्तत्वगत्वा कुन मुलुकको लडाकु विमान किन्ने भन्ने बारेमा निर्णायक बन्न पुग्छ।
अमेरिकाको एफ-२२
(एसिया टाइम्सबाट)
Shares
प्रतिक्रिया