ad ad

ग्लोबल


घेरामा परेका युक्रेनी सैनिकका पत्नीहरुको गुहारः  हाम्रा पतिको उद्धार होस्

घेरामा परेका युक्रेनी सैनिकका पत्नीहरुको गुहारः  हाम्रा पतिको उद्धार होस्

अन्ना नाउमेन्को, युलिया फेदुसिक, ओल्हा आन्द्रियानोभा र कतरिना प्रोकोपेन्को


ड्यानियल बफी
बैशाख २५, २०७९ आइतबार १९:३३, किभ

‘अहिलेसम्म टिकिराखेका छौँ,’ युक्रेनको बन्दरगाह सहर मारिओपोलमा रुसी सेनाको घेराबन्दीमा परेको युक्रेनी अजोव रेजिमेन्टका कमान्डर देनिस प्रोकोपेन्कोले आफ्नी पत्नीलाई ह्वाट्सएपमा पछिल्लो पटक यही सन्देश पठाएका छन्।

प्रोकोपेन्कोले शुक्रबार राति १० बजे पठाएको सो सन्देश अन्तिम नबनोस् भन्ने सुनिश्चित गर्न आफूले सक्नेजति सबै उपाय लगाइराखेको उनकी पत्नी कतरिनाले बताइन्। घेरामा परेका अन्य तीन सैनिकका पत्नी र पार्टनरसँगै पोल्यान्डको क्राकोवमा बसेकी छन् कतरिना।

मारिओपोलस्थित विशाल अजोवस्टल स्टिल कारखानाभित्र युक्रेनी सैनिकहरुले शरण लिएको दुई साता बितिसकेको छ। कारखानामुनिको गुम्सिलो सुरुङमा उनीहरु बसेका छन्। रुसी सेनाले बाहिरबाट निरन्तर गोलाबारी गरिरहेको छ।

त्यहाँ पहिले बालबालिकासहित गैरसैनिक पनि थिए। संयुक्त राष्ट्रसंघ र रेडक्रसको मध्यस्थतामा उनीहरुलाई बाहिर निकालिएको छ। शनिबार ५० जनाको उद्धार गरिएको बताइएको छ।

युक्रेनकी उपप्रधानमन्त्री इरिना वेहेस्चुकले शनिबार राति अजोवस्टलबाट सम्पूर्ण महिला, बालबालिका र वृद्धलाई उद्धार गरिएको बताएकी छन्।

अहिले त्यहाँ २ हजारजति सैनिक रहेको बताइएको छ। तीमध्ये सात सय घाइते भएको जनाइएको छ। उनीहरु जीवित फर्किने आशा भने मर्दै गइरहेको छ।

‘पछिल्लो सन्देश हिजो आएको थियो,’ २७ वर्षीया कतरिनाले भनिन्, ‘मैले भनेको छु– पख्नुस्, तपाईंहरुलाई बचाउन हामी सकेसम्म सबैथोक गर्छौँ।’

मे ९ मा नाजी जर्मनीविरुद्ध सोभियत संघको विजयको सम्झनामा रुसले विजय दिवस मनाउँदै छ। त्यसका लागि मारिओपोलमा पनि युद्धका कारण थुप्रिएका फोहोर सफा गरिँदैछ। मारिओपोलको अन्तिम युक्रेनी किल्लालाई ध्वस्त पार्ने रुसको योजना देखिन्छ।

विजय दिवसअघि रुसले युक्रेनको पूर्वी र दक्षिणी भेगका रणनीतिक निसानाहरुमा आक्रमण सघन बनाएको छ। शनिबार नै बन्दरगाह सहर ओडेसामा कयौँ क्षेप्यास्त्र प्रहार भयो।

घेरामा रहेका अन्य सैनिकका श्रीमतीहरुसहित कतरिना अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा अजोवस्टलका सैनिकहरुलाई बाहिर निकाल्न आह्वान गरिरहेकी छन्। उनीहरुले आत्मसमर्पण नगर्ने तर उनीहरुको ज्यान बचाउनु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी भएको उनको भनाइ छ।

‘त्यहाँको अवस्था भयानक छ। पुरै नाकाबन्दी छ। उनीहरुले पानी, खाना वा कुनै कुरा पनि ल्याउन सक्दैनन्,’ कतरिना भन्छिन्, ‘आफ्नो सरसामान गैरसैनिकलाई पनि दिनुपरेको छ। उनीहरुले स्वास्थ्य सामग्री पनि पाएका छैनन्।’

‘मृत सैनिकहरु पनि त्यहीँ छन्। किनभने लासको रक्षा गर्नु पनि हाम्रा सैनिकका लागि महत्वपूर्ण छ,’ उनी भन्छिन्, ‘रेफ्रिजेरेटरले मुस्किलले काम गरिरहेको छ। उनीहरुसँग केही दिन मात्र छ। भोकैले मर्न सक्छन् उनीहरु। हामीलाई लाग्छ डन्कार्कबाट जस्तै उनीहरुको उद्धार सम्भव छ। हामीलाई मात्र केही साहसी मुलुकको सहयोग चाहिएको छ, जसले हाम्रा सैनिकहरुलाई समुद्र र हवाई मार्गबाट उद्धार गर्न सक्छन्। तर, त्यसका लागि कुनै बहादुर मुलुकले रुसलाई अल्टिमेटम दिनुपर्छ।’

अजोव रेजिमेन्टका कमान्डर देनिस प्रोकोपेन्को पत्नी कतरिनाका साथ

२९ वर्षीया युलिया फेदोसिकका पति आर्सेनी अजोव रेजिमेन्टमा सार्जेन्ट छन्। पछिल्लो पटक शुक्रबार नै पतिसँग टेलिग्राममार्फत सम्पर्क भएको उनले बताइन्।

‘जे हालत छ, त्यही रहने हो भने उनीहरुसँग पाँच दिन मात्र बाँकी छ,’ युलिया भन्छिन्, ‘दुई जना घाइते सैनिक त २४ घण्टामै मर्न सक्ने उनले मलाई बताएका थिए। तिनको अंगमा क्षति पुगेको छ, दुई महिनादेखि तिनको अवस्था खराब हुँदै गएको छ।’

अजोव रेजिमेन्ट २०१४ मा रुसविरुद्ध लड्न बनाइएको मिलिसिया हो। चरम दक्षिणपन्थीहरु समावेश सो रेजिमेन्टलाई रुसले नवनाजीको आरोप लगाउँदै आएको छ। तिनलाई पछि रुसी सेनामा समायोजन गरिएको थियो।

युलियाले एक अजोव सैनिककी आमाले आफ्नो मृत छोराको शवको फोटो रुसीहरुबाट प्राप्त गरेको बताइन्।

‘हाम्रा सैनिक युद्धबन्दी बनून् भन्ने हामी चाहन्नौँ। किनभने अजोवलाई लिएर जथाभावी प्रचार हुने गरेको छ,’ युलिया भन्छिन्, ‘अजोवको नाम सुन्दै रुसीहरु आक्रोशित हुन्छन्। उनीहरु अजोवलाई घृणा गर्छन्। अजोव सैनिक बन्दी बन्ने हो भने ऊ जिउँदो वा स्वस्थ फर्किने सम्भावना छैन। हामीलाई लाग्छ, हाम्रो सरकारले उनीहरुलाई बचाउन राजनीतिक र कूटनीतिक कदम चाल्न सक्छ।’

२५ वर्षीया अन्ना नाउमेन्कोले पति दिमित्री दानिलोवबाट शनिबार राति १ बजे भ्वाइस मेसेज प्राप्त गरिन्।

‘उनले त्यहाँभित्र निकै गर्मी रहेको बताए। हातगोडा चुँडिएकाहरुका लागि पेनकिलर समेत छैन। अप्रेसन गर्नुपर्दा मात्रै पेनकिलर प्रयोग गरिन्छ,’ उनले भनिन्।

बेलायती सरकारले तिनको उद्धारका लागि अन्तर्राष्ट्रिय पहल गर्न सक्ने ती महिलाहरुको भनाइ छ। त्यही अभियान चलाउन उनीहरु बेलायत जाने प्रयास गरिरहेका छन्। तर, भिसा नपाइएको उनीहरुले बताए।

‘मेरा पार्टनर निरास छन्। किनभने पहिले सहयोग गर्छौँ भन्ने आश्वासन उनीहरुलाई दिइएको थियो। तर, केही सहयोग आएन,’ सार्जेन्ट सेर्गेइकी ३१ वर्षीया पार्टनर ओला आन्द्रियानोवा भन्छिन्, ‘म उनलाई खुसी बनाउने प्रयासमा छु र आश नमार्न भनिरहेकी छु।’

(द गार्डियनबाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .