रुसको हवाई आक्रमणमा परी युक्रेनमा मङ्गलबार थप आठ जनाको मृत्यु भएको छ।
युक्रेनका सैनिकको आधार क्षेत्र रहेको ग्रामीण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ।
डेसना भन्ने गाउँमा भएको आक्रमणमा परी अरु १२ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
अहिले आक्रमण भएको ठाउँमा अपवाद मात्रै आक्रमण हुने गरेको थियो। राजधानी किभदेखि ७० किलोमिटर टाढा पर्ने ठाउँमा आक्रमण भएको हो। त्यहाँ ठूलो सैन्य तालिम केन्द्र रहेको थियो।
यसअघि युक्रेनको बन्दरगाह शहर मारिउपोलमा अवस्थित एउटा स्टील कारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको थियो।
युक्रेन उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौताअन्तर्गत उनीलाई स्वदेश फर्काइने बताएका थिए। उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेका अधिकारीले बताएका छन्। गम्भीर घाइते रहेका ती सैनिकलाई अस्पताल भर्ना गरिएको जनाइएको छ।
मारिउपोलस्थित एजोभस्टाल स्टील कारखानामा ८० दिनभन्दा बढी समयदेखि ती सैनिक रुसी फौजको घेराबन्दीमा परेका थिए। ती सैनिकको उद्धारकार्यमा संयुक्त राष्ट्रसंघ र रेडक्रम संलग्न रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बताएका छन्।
उक्त बन्दरगाह शहरमाथि कब्जा गर्ने अभियानमा करिब २० हजार रूसी सैनिक संलग्न रहेका युक्रेनी सेनाले दाबी गरेका छन्। रासस/एएफपी
Shares
प्रतिक्रिया