मारिओपोल सहरको अजोवस्टल कारखानामा घेरिएका झण्डै एक हजार युक्रेनी सैनिकहरुले आत्मसमर्पण गरेको रुसले बताएको छ।
सो सहर रुसको कब्जामा परेयता उनीहरु कारखानाको भूमिगत सुरुङमा बसेर लडिरहेका थिए। आत्मसमर्पण गर्नेमा नवनाजीको आरोप खेपिरहेको अजोव बटालियनका लडाकुहरु पनि छन्।
गएको २४ घण्टामा ६ सय ९४ जनाले आत्मसमर्पण गरेको रुसी रक्षा मन्त्रालयको भनाइ छ। यसअघि सोमबार २ सय ५६ जनाले हतियार बिसाएका थिए। यसरी आत्मसमर्पण गरेका ९ सय ५९ मध्ये ८० जना घाइते रहेको र घाइतेमध्ये ५१ जनालाई अस्पताल लगिएको रुसले जनाएको छ।
युक्रेनले भने आफ्ना कति सैनिकले आत्मसमर्पण गरे, खुलाएको छैन। रुसले नवनाजी भनेर दानवीकरण गरिरहेको अजोव बटालियनलाई युक्रेनले भने नायकको दर्जा दिएको छ। २०१४ मा मिलिसियाको रुपमा गठित अजोव बटालियनलाई पछि युक्रेनी सेनामा मिसाइएको थियो।
कारखानाभित्र घेरामा परेको हप्तौँ बित्दा पनि उनीहरुले आत्मसमर्पण गर्न अस्वीकार गर्दै आएका थिए। रुसीहरुको हातमा आफूहरु असुरक्षित हुने भन्दै उद्धारका लागि उनीहरुले विश्वव्यापी आह्वान गरेका थिए।
घेरिएका अजोव सैनिकका पत्नीहरुले पनि विभिन्न मुलुक र संस्थालाई उद्धारका लागि गुहार लगाएका थिए। तर, हतियार, खाना, औषधिलगायतको अभावका कारण मृत्युको मुखमा पुग्ने स्थिति आएपछि उनीहरुले हतियार बिसाएका हुन्।
उनीहरुलाई खानतलासीपछि बस चढाएर रुसको नियन्त्रणमा रहेका क्षेत्रमा लगिएको छ।
उनीहरुलाई युद्धबन्दी साटासाट गरेर मुक्त गरिने युक्रेनको भनाइ छ। तर, उनीहरुको भाग्यको फैसला अदालतले गर्ने स्वघोषित दोनेस्क गणतन्त्रका प्रमुख देनिस पुसिलिनले बताएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया