रुसले ९ सयभन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ।
उनीहरुलाई अहिले आफ्नो नियन्त्रणमा रहेको भू–भागमा रहेको कारागारमा राखिएको रुसले बताएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार युक्रेनको मारिउपोल सहरको अजोभ्स्टल स्टिल कारखानामा रहेका उनीहरुले आत्मसमर्पण गरेका हुन्।
युक्रेनले दुई पक्षबीच भएको सम्झौताअनुसार आफ्ना सैनिकलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो।
केही सातायता मारिउपोलमा खाद्यान्न र खानेपानीको आपूर्ति हुन नसकेको कारण त्यहाँ रहेका सैनिकको अवस्था नाजुक बनेको थियो। यससँगै युक्रेनले उनीहरुको जीवनरक्षाको लागि भन्दै आत्मसमर्पणको निर्देशन दिएको हो।
रुसको विदेश मन्त्रालयका अनुसार मंगलबारयता ९५९ युक्रेनी सेनाले आत्मसमर्पण गरेका छन्।
उनीहरुमध्ये ५१ जनालाई उपचारको लागि पठाइएको छ भने बाँकीलाई कारागार पठाइएको छ।
बीबीसीका अनुसार युक्रेनी सेनालाई डोनेट्स क्षेत्रमा राखिएको छ। युक्रेनले उनीहरुलाई कैदी साटफेर सम्झौताबाट स्वदेश फर्काइने विश्वास लिएको छ।
यद्यपि उनीहरुको अहिलेको अवस्था कस्तो छ भन्ने विषयमा भने रुसले केही बताएको छैन।
Shares
प्रतिक्रिया