अमेरिकामा नेपाली विद्यार्थी अनुज थापाको उपचारमा लापरबाही गरेको भन्दै अदालतले अस्पताललाई ११ करोड १० लाख अमेरिकी डलरबराबरको क्षतिपूर्ति बुझाउन आदेश दिएको छ।
अमेरिकामा पाँच वर्षअघि १९ वर्षीय थापाको उपचारमा भएको गम्भीर लापरबाहीको कारण उनको एउटा खुट्टा नै काम गर्न नसक्ने अवस्थामा पुगेको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार मिनेसोटास्थित अदालतले थापाको उपचामा सेन्ट क्लाउड अस्पतालले लापरबाही गरेको प्रत्यक्षरुपमा देखिएको उल्लेख गरेको छ।
सन् २०१७ को जनवरीमा फुटसल खेल्ने क्रममा थापाको खुटा मर्किएको थियो।
त्यसपछि अस्पताल गएका थापालाई डाक्टरले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए। खुट्टाको शल्यक्रियापछि थापाले थप धेरै दुखाइ महसुस भएको बताएका थिए।
तर, अस्पतालले सोही रात उनलाई अस्पतालबाट डिस्चार्ज गरेको थियो।
त्यसपछि ६ दिनपछि पनि सञ्चो नभएर अस्पताल पुगेका उनलाई अर्कै डाक्टरले खुट्टाको मांशपेशी छुट्टिएको र अब त्यो जोड्न नसकिने अवस्थामा पुगेको बताएका थिए।
त्यसयता थापाले २० पटक खुट्टाको शल्यक्रिया गराइसकेका छन्।
Shares
प्रतिक्रिया