ad ad

ग्लोबल


यी हुन् चीनको प्रधानमन्त्री पदका सबैभन्दा बलिया दाबेदार

यी हुन् चीनको प्रधानमन्त्री पदका सबैभन्दा बलिया दाबेदार

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १८:४४, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीका संघाइ सचिव ली चियाङ चीनको प्रधानमन्त्रीको दौडमा सबैभन्दा अगाडि देखिएका छन्। चीनको वित्तीय केन्द्रका रुपमा परिचित सांघाइमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट नियन्त्रणमा उनको कमजोरी देखिए पनि अहिले ली प्रधानमन्त्रीको सबैभन्दा बलियो दाबेदारका रुपमा उदाएका छन्।

संविधानले हदबन्दी तोकेको दुई कार्यकाल पुरा गरेपछि वर्तमान प्रधानमन्त्री ली खछ्याङले आउँदो मार्चमा अवकाश लिँदै छन्। त्यसैले उनको ठाउँमा राष्ट्रपति सी चिनफिङले कसलाई रोज्लान् भनेर सबैको आँखा जारी २० औँ महाधिवेशनमा केन्द्रित छ।

राष्ट्रपति सी अभूतपूर्व तेस्रो कार्यकालका लागि सर्वोच्च नेताका रुपमा चयन हुने संघारमा छन्। उनी आउँदो पाँच वर्षका लागि आफूलाई सघाउन कम उमेरका नेताहरुको टोली तयार गर्न चाहन्छन्। 

स्थायी समितिमा बसेर अर्को पद सम्हाल्नुको सट्टा ६७ वर्षीय ली खछ्याङले पूर्ण अवकाश रोज्ने स्रोतहरुले बताए। उनको ठाउँ कसले लिने भन्ने कुरा ६७ वर्ष पुगिसकेका स्थायी समिति सदस्य वाङ याङको भाग्यमा पनि निर्भर छ। वाङले अवकाश नलिए लामो अनुभव र पृष्ठभूमिका कारण प्रधानमन्त्री बन्न सबैभन्दा उपयुक्त पात्र उनी नै हुने विदेशी पर्यवेक्षकहरुको भनाइ छ।

पार्टी वरीयतामा चौथो नम्बरमा रहेका वाङ पूर्वप्रधानमन्त्री हुन् भने यतिखेर सल्लाहकार समितिका अध्यक्ष हुन्। नयाँ स्थायी समितिमा पनि उनले निरन्तरता पाए लीको हातबाट प्रधानमन्त्रित्व लिन उनी योग्य र उपयुक्त छन्। 

तर, वाङले प्रधानमन्त्री लीकै पदचाप पछ्याउँदै पूर्ण अवकाश लिने अनेकौँ स्रोतहरुले बताए। जसका कारण प्रधानमन्त्री पदमा प्रतिस्पर्धा हुने देखिएको छ।

सांघाइका पार्टी प्रमुख ली चियाङ ६३ वर्षका भए। उनी पार्टीका उदाउँदा नेताहरुको समूहमा पर्छन्, जो स्थायी समिति सदस्य बन्ने सम्भावना ज्यादा छ।

ऐतिहासिक रुपमा हेर्दा सांघाइ लामो समयदेखि राष्ट्रिय नेता जन्माउने थलोका रुपमा चिनिँदै आएको छ। गएको ३३ वर्षमा हु चिन्ताओको कार्यकालमा भ्रष्टाचार आरोपमा पदच्यूत गरिएका चेन लियाङयुबाहेक सांघाइका सबै पार्टी प्रमुखहरु स्थायी समिति सदस्य बनेका छन्।

स्रोतहरुका अनुसार प्रविधि र नयाँ अर्थतन्त्र विकासमा उदाहरणीय काम गरेका ली चियाङ नयाँ प्रधानमन्त्रीको सबैभन्दा बलियो दाबेदार हुन्। तर, पार्टीको परम्परा भने उनको विपक्षमा छ। उनी अहिलेसम्म उपप्रधानमन्त्री बनेका छैनन्। अहिलेसम्म चाउ एनलाइ र हुवा कुओफेङ मात्र उपप्रधानमन्त्री नभई सोझै प्रधानमन्त्री बनेका छन्। चाउ जनवादी गणतन्त्र चीनको एक संस्थापक नेता थिए भने हुवा माओ चेतुङले आफ्नो उत्तराधिकारी मानेका व्यक्ति थिए।

अरु सबै पार्टीको अलिखित परम्परा पछ्याउँदै पहिले उपप्रधानमन्त्री बनेर मात्र प्रधानमन्त्री नियुक्त भएका छन्।

तर, सीका लागि यो ठूलो बाधा नहुन सक्छ। राष्ट्रपति सीले प्रायः परम्पराहरुलाई पालना गरे पनि ठूलो उदेश्य पुरा हुने अवस्थामा उनी परम्परा तोड्न पनि पछि परेका छैनन्।

सिद्धान्ततः ली चियाङलाई राष्ट्रिय जन कंग्रेस (संसद)ले आउँदो केही महिनाका लागि उपप्रधानमन्त्री बनाउन सक्छ। गत वर्ष कानुन संशोधनपछि संसदलाई त्यो शक्ति दिइएको छ। त्यसपछि मार्च महिनामा संसदको पूर्ण अधिवेशनले उनलाई प्रधानमन्त्री नियुक्त गर्न सक्छ।

मार्च २०२१ मा संसदसम्बन्धी कानुन संशोधन गर्दा प्रधानमन्त्रीको आग्रहमा जनकंग्रेसको स्थायी समितिले वार्षिक अधिवेशनअघि नै उपप्रधानमन्त्रीसहित स्टेट काउन्सिल (मन्त्रिपरिषद्) का वरिष्ठ अधिकारीलाई नियुक्त वा पदच्यूत गर्न सक्छ। 

स्थानीय शासनको लामो अनुभव भए पनि ली चियाङ अहिलेसम्म उपप्रधानमन्त्री बनेका छैनन्। तर, बदलिएको कानुनले सीको यो समस्या पनि समाधान गरिदिन सक्छ।

केहीका लागि सीको यो दाबेदारी आश्चर्यजनक छ। किनभने गत फेब्रुअरीमा सांघाइमा कोभिड–१९ फैलिएपछि उनको करिअरलाई ठेस लागेको विश्लेषण गरिएको थियो। सुरुमा धिमा प्रतिक्रिया दिएको आरोप सहरका अधिकारीहरुमाथि लाग्यो। त्यसपछि चीनको अर्थतन्त्रको केन्द्रमा भएको दुई महिना लामो लकडाउनको प्रभाव विश्वभर पर्यो। 

त्यो असफलता अघिसम्म सांघाइले ‘कोभिड नियन्त्रणको वैज्ञानिक र बृहत् रणनीति’ अपनाएको भन्दै प्रशंसा कमाएको थियो।

सांघाइका एक वरिष्ठ चिकित्सकले नाम नबताउने सर्तमा लीले त्यतिबेला जिल्लास्तरीय लकडाउन गर्न केही समय हिच्किचाएको र त्यसका कारण भाइरस फैलिनुअघि नै रोक्ने अवसर गुमेको हुनसक्ने’ बताए। तर, त्यतिबेला ओमिक्रोन भाइरस यति धेरै सरुवा हुने जानकारी कसैलाई नभएको उनको भनाइ छ। 

स्थायी समितिमा बढुवा हुनसक्ने अरु उदाउँदा नेताहरुमा सीका राजनीतिक सहयोगी तिङ सुइसियाङ, ६०, कुआङतोङ पार्टी सचिव ली सी, ६६, र चङकिङ पार्टी सचिव चेन मिनर, ६२ छन्।

उपप्रधानमन्त्री हु चुनहुवा, ५९ र प्रचार प्रमुख हुआङ कुनमिङ, ६५, को बढुवा हुने सम्भावना नरहेको बताइन्छ।

नयाँ प्रधानमन्त्रीको नाम आउँदो मार्चमा मात्र घोषणा हुनेछ। तर, आइतबार पार्टीको वरीयता घोषणा हुँदा प्रधानमन्त्री बन्ने व्यक्तिको नाम अनुमान गर्न सकिनेछ। पार्टीको वरीयतामा दोस्रो वा तेस्रो स्थानमा रहेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने चलन छ। चीनमा प्रधानमन्त्री बन्ने व्यक्ति आर्थिक र सामाजिक विकास मामिलाको प्रमुख हुन्छ। जसले प्रायः दुई ठूला प्रान्तको जिम्मेवारी सम्हालिसकेको हुनुपर्छ।

(साउथ चाइना मर्निङ पोस्टबाट)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .