–टर्कीका भूकम्पपीडितका लागि जारी राहत कार्यप्रति बढ्दो आक्रोशमा राष्ट्रपति अर्दोआनले यति ठूलो प्रकोपको पूर्वतयारी गर्न असम्भव रहेको बताएका छन्।
–भूकम्पपछि सिरियाबाट ठूलो संख्यामा मानिस टर्कीमा बसाइँ सरेका छन् । जसका कारण उनीहरुको समस्या झनै बढेको छ।
–युरोपेली संघले बुधबार सिरियाका लागि ३.५ मिलियन युरो सहयोग घोषणा गरेको छ । सिरियाले सहयोगको औपचारिक अनुरोध गरेपछि युरोपेली संघले यो घोषणा गरेको हो।
–युरोपेली संघले बसर अल असदलाई सिरियाको राष्ट्रपतिका रूपमा मान्यता नदिए पनि आफू वा कसैले दिने सहयोग सरकार र विद्रोही दुवैको कब्जामा रहेका क्षेत्रमा पुर्याउने घोषणा गरेको छ।
–मृत्यु र विनाशको निराशाजनक समाचारको बीचमा सिरियाको इदलिबबाट एक परिवारका छ जना सदस्यलाई जीवितै उद्धार गरिएको खबर आएको छ।
–यस विपद्मा परेकाहरूलाई राहतदाता र उद्धारकर्मीहरूले सक्दो सहयोग गरिरहेका छन्।
–हिउँ र वर्षाको बीचमा यस जाडो मौसममा गाजिएनटेपमा रातको औसत तापक्रम माइनस ७ डिग्रीमा झरेको छ।
–टर्कीमा पनि एक ८ वर्षीय बालकलाई भग्नावशेषबाट जिउँदै निकालिएको छ।
–टर्कीमा सोमबार आएको भूकम्पका कारण टर्की र छिमेकी सिरियामा गरी मृत्यु हुनेको संख्या ११ हजार २०० नाघेको छ।
–सिरियामा मृत्यु हुनेको यकिन तथ्यांक आइसकेको छैन तर, सरकारी सञ्चारमाध्यम र उद्धार टोलीले त्यहाँ २ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन्।
–विश्व स्वास्थ्य संगठनले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएको छ।
–भूकम्पबाट हजारौं भवनमा क्षति पुगेको छ भने दुई करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्।
–अत्यधिक चिसोका बीच राहत र उद्धारकर्मीहरुले भग्नावशेषमा फसेका मानिसहरुको खोजी तीव्र रुपमा गरिरहेका छन्। यसैबीच भूकम्पपछि सडकमा बस्न बाध्य मानिसलाई चिसो खेप्नुपर्ने चुनौती छ।
–टर्कीका केही सहरहरूमा भग्नावशेषमा फसेका मानिसहरूलाई उद्धार गर्न सर्वसाधारण नागरिकहरूले पनि उद्धारकर्ताहरूलाई सहयोग गरिरहेका छन्।
–टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले भूकम्पबाट सबैभन्दा बढी प्रभावित १० प्रान्तमा तीन महिनाको आपतकाल घोषणा गरेका छन्।
–भारत, अमेरिका, इजरायललगायत दर्जनौं देशले टर्की र सिरियामा राहत सामग्री पठाइरहेका छन् भने विज्ञको टोली उद्धार कार्यमा सहयोग गरिरहेका छन्। नेपालले पनि टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ।
–टर्कीको गाजिएनटेपमा सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको हो। त्यसको केही मिनेटपछि मध्य टर्कीमा ७.५ म्याग्निच्युडको अर्को भूकम्प गयो।
Shares

प्रतिक्रिया