ad ad

ग्लोबल


सद्दाम हुसेनको भव्य बेबिलोन दरबार पुग्दा

युद्धपछि पनि किन सुन्दर भविष्यको सपना देख्न सकिरहेका छैनन् इराकी युवा?
सद्दाम हुसेनको भव्य बेबिलोन दरबार पुग्दा

शन युवान
चैत ११, २०७९ शनिबार २१:१२,

संगमरमरको सिँढी उक्लिँदै गर्दा मोहम्मद हकिम आँखाले भ्याउन्जेल परसम्म फैलिएका खजुरको बोटको मरुद्यान छेउबाट बग्ने फरात नदीतर्फ हेर्छन् र सेल्फी खिचिक्क पार्छन्।

‘गतिलो ठाउँ कसरी रोज्ने उनलाई थाहा थियो,’ उनले इराकका पूर्वशासक सद्दाम हुसेनतर्फ संकेत गर्दै मजाक गरे। उनी पसेको यो महंगो भवन सद्दामकै दरबारहरुमध्ये एक थियो।

सानदार सिँढीदेखि लिएर राजसी द्वार अनि नदी देखिने विशाल कोठाचोटा– प्राचीन बेबिलोनको खण्डहरपट्टि फर्केको यो दरबार सद्दामले कल्पना गरेको शक्तिशाली साम्राज्यको अभिव्यक्ति हो।

एकदम ठाँटिलो र सुनौलो भित्ता भएको यो दरबार बगदादबाट एक घण्टा टाढा दक्षिणतिर छ। सद्दामले कवारिस नामक गाउँ उठाएर मानवनिर्मित डाँडो तयार गरेर त्यसमाथि यो दरबार ठड्याएका थिए।

सभ्याताको कोक्रोमा संकट
२० वर्षअघि अमेरिकी ट्यांक राजधानी बगदादको सडकमा मडारिनु र सद्दाम गद्दी छाडेर भाग्नुअघि यो दरबारमा पस्ने कुरा कसैले सपनामा पनि सोच्न सक्दैनथ्यो।

अमेरिका नेतृत्वको गठबन्धनले आक्रमण गरेपछि यी कुख्यात नेता २० मार्च २००३ मा सत्ताच्यूत भए। त्यसलगत्तै एउटा यस्तो क्षण आयो, जसमा इराकले ठूलो सपना देख्यो– सायद सद्दाम हटेपछि दीर्घप्रतीक्षित शान्ति र समृद्धि आउँछ कि!

तर, सो आक्रमणले दुई दशक लामो हिंसा र द्वन्द्वलाई जन्म दियो। जसका कारण सम्पूर्ण राष्ट्र भद्रगोलमा जाकियो अनि इराकीहरुको पुस्तौँपुस्ताको सामान्य जीवन बाँच्ने सपना लुटियो।

बेबिलोनको यो दरबार अहिले जनताले पुनःप्राप्त गरेका छन्। यो दरबार सभ्याताको कोक्रो भनेर चिनिने इराकको पछिल्लो संकटको साक्षी बनेको छ।

यहाँ सद्दामका केही चिह्नहरु छन्। उनको नामको छोटकरी रुप ढुंगामा कुँदिएको छ। पछाडि उनको प्रतिरुपका साथ लेखिएको छ, ‘गणतन्त्रका राष्ट्रपति, महान इराकका संरक्षक, यसको नवजागरणको नवनिर्माणकर्ता र यो महान सभ्याताका निर्माता विजयी सद्दाम हुसेनको शासनमा महान सहर बेबिलोनमा १९८७ मा निर्मित।’ 

यसबाहेक यो दरबारमा सद्दामको कुनै चिह्न छैन। दरबारको झ्याल फुटेका छन्, पर्खाल भित्तेलेखनले ढाकिएका छन्, दलिनमा ढुकुरले गुँड बनाएका छन्।

तर, २२ वर्षीय विद्यार्थी हकिमका लागि पहिले वर्जित यो दरबारमा इराकी नागरिकका रुपमा प्रवेश गर्न पाउनु खुसीको कारण थियो।

‘अविश्वसनीय!’ हकिमले भने, ‘सद्दामको यो घरमा आउन अंगरक्षक वा सुरक्षाकर्मी चाहिएन। मेरो विचारमा यो गज्जब हो।’

उत्रै उमेरका अर्का व्यक्तिले मजाक गरे, ‘यहाँ पस्दै गर्दा मैले सद्दामले कफी पिइरहेको दृश्य कल्पना गरेँ। उनी यहाँ आफ्ना हातहतियार पनि उचाल्थे होला।’

२० वर्षअघि यस्तो मजाक गर्ने अनुमति कसैलाई थिएन। अमेरिकी आक्रमणपछि पनि कोही यस्तो मजाक गर्ने स्थितिमा थिएनन्, किनभने चारैतिर हिंसा थियो, मानिसहरुको ज्यान निरन्तर जोखिममा थियो।

अहिले धेरै हदसम्म हिंसा रोकिएको छ र इराकको नयाँ पुस्ता फेरि सपना देख्न थाल्दैछ। जुन कष्टले उनीहरुको हुर्काइ निर्धारण गर्यो, त्योभन्दा अलग भविष्य निर्माण गर्ने आशामा छन् उनीहरु।

इराकी युवाहरु सामूहिक रुपले सद्दामको शासनमा वर्जित रहेका र द्वन्द्वको अवधिमा खतरनाक रहेका स्थानहरुलाई पुनर्प्राप्ति गर्दैछन्। बगदादको अदामिया जिल्लामा रहेको सद्दामको एउटा दरबारको एक भागलाई सपिङ सेन्टर बनाइएको छ। दजला नदीको मनोहर दृश्य देखिने त्यहाँका रेस्टुराँहरुमा राति अबेरसम्म इराकीहरु बस्ने गर्छन्।

बगदादको जद्रिया पुलनजिकै सूर्यास्तका बेला युवाहरु मोटरबाइक लिएर जम्मा हुन्छन् र आआफ्नो सीप प्रदर्शन गर्छन्। बाबुआमाहरु आफ्ना बालबच्चा लिए अबु नुवास पार्क जान्छन्, जहाँ मनोरञ्जनस्थल बनाइएको छ। दजला नदीको किनारमा तन्नेरी जोडीहरु टहलिन्छन्, कहिलेकाहीँ हात पनि समातेर।

‘सामान्य बचपन बिताउन पाएनौँ’
तर, इराकीहरुको अनेक पुस्ताले मुलुकमा खालि हिंसा र द्वन्द्व मात्र देखेका छन्।

आक्रमण सुरु भएको जनाउ दिँदै बगदादमा गर्जनका साथ ठोक्किन आइपुगेका रकेट, सद्दाम अपदस्थ भएसँगै सुरु भएको लुटपाट, विदेशी अधीनको विरुद्धमा उठेको विद्रोह, २००६ मा साम्प्रदायिक द्वन्द्वले लिएको गृहयुद्धको रुप र निरन्तरको हिंसाले जन्माएको इस्लामिक स्टेट। थुप्रै इराकीलाई आफ्नो देश भन्नेबित्तिकै यिनै कष्टको सम्झना आउँछ।

‘हामीले सामान्य बाल्यकाल भोग्न पाएनौँ। किनभने हामीले जे भोग्यौँ, त्यसको एक प्रतिशत पनि कसैले भोग्नु नपरोस्,’ युनिभर्सिटी अफ बगदादकी २१ वर्षीया विद्यार्थी जैनब अल सामरी भन्छिन्। उनले २००६ मा दाजु र २०११ मा बुबा गुमाइन्।

सिया समुदायकी जैनबको परिवार बगदादको डोरा जिल्लामा बस्थ्यो। जहाँ धेरैजसो सुन्नी समुदायका थिए। अगस्ट २००६ को एक दिन साम्प्रदायिक द्वन्द्व उत्कर्षमा रहेका बेला उनका दाजु आफ्नै घरबाहिर मारिए। उनको लाससँगै एउटा लेखोट छाडिएको थियो– ‘यो ठाउँ छाडिहाल, नत्र अरु पनि मारिनेछौ।’

यो हत्या अल कायदाले गराएको परिवारको शंका थियो। किनभने डोरा सो समूहको ‘खेल मैदान’ भएको जैनबले बताइन्। उनको परिवार त्यसपछि इराकको दोस्रो ठूलो सहर बस्रा सर्यो।

‘मेरो पुरै बाल्यकाल डरैडरमा बित्यो। मारिने डर, लखेटिने डर, यो डर, त्यो डर,’ बगदादको व्यस्त इनर करादा सडकमा हिँड्दै गर्दा उनले सुनाइन्। उनी परिवारसहित बगदाद फर्केको तीन वर्ष हुँदैछ।

इराकमा धेरैको कथा जैनबको कथासँग मिल्दोजुल्दो छ। गएको २० वर्षमा कति नागरिक मारिए भन्ने यकिन तथ्यांक छैन। तर, इराक बडी काउन्ट प्रोजेक्टका अनुसार २००३ को आक्रमणयता करिब २ लाख गैरसैनिक मारिए। करिबकरिब सबैसँग परिवारको सदस्य वा साथी गुमाएको कथा छ।

युवा पुस्ताको आवाज
अक्टोबर २०१९ मा अधिकांश युवाहरु सडकमा ओर्लिए र इराकको राजनीतिक प्रणाली फेरबदल गर्नुपर्ने माग राखे। सो आन्दोलनका सदस्यहरु बलिया मिलिसियाहरुको सहयोगमा मुलुकका सम्भ्रान्तहरुले प्रदर्शनमाथि दमन गरेको र परिवर्तनको मागलाई बेवास्ता गरेको आरोप लगाउँछन्।

‘सुरुमा हामी आशावादी थियौँ। तर, तुरुन्तै थाहा भयो, मिलिसिया र राजनीतिक माफियाहरु आफ्नो स्वार्थ रक्षाका लागि नमरुन्जेल लड्नेछन्,’ सो प्रदर्शनमा भाग लिएका २५ वर्षीय इन्जिनियर उमर अल हमादी भन्छन्। 

नोभेम्बर २०१९ मा मिलिसियाले गोली हानेर आफ्ना दुई साथीको हत्या गरेपछि उनी इस्तानबुल गए।

‘म उनीहरुलाई कहिल्यै माफ गर्नेछैन। मलाई लाग्छ, मेरा कुनै पनि साथीले तिनलाई माफ गर्नेछैनन्,’ उनले भने।

सडकमा रगत बगाउनबाट जो जोगिएका थिए, ती पनि भ्रष्टाचार र अस्थिर शासनका कारण इराकमा आफ्नो भविष्य देख्दैनन्।

२००३ को आक्रमणलगत्तै जाति–साम्प्रदायिक विभाजनमा आधारित सत्ता साझेदारीको राजनीतिक व्यवस्थाले राजनीतिक अन्दर्द्वन्द्व बढायो र भ्रष्टाचारको शृंखला सुरु गर्यो। 

पूर्वप्रधानमन्त्री मुस्तफा अल कदिमीका अनुसार गएको दुई दशकमा भ्रष्टाचारका कारण राज्यले ६ सय अर्ब डलरभन्दा ज्यादा रकम गुमाएको छ। भ्रष्टाचारले युवा पुस्ताको भविष्यको जग खन्ने क्षमता नै खोसिदिएको छ।

‘राजनीतिक सम्भ्रान्तहरु दीर्घकालीन सामाजिक–आर्थिक तथा वातावरणीय चुनौतीलाई महसुस गर्न वा रोक्न असफल भएका छन्। तिनै चुनौती आजको युवाले पनि विरासतमा पाउनेछन्,’ लन्डनस्थित च्याटम हाउसका अध्येता हैदर अल साकिरी भन्छन्।

युवा इराकीहरुका लागि यसको मूल्य अति चर्को परेको छ। 

‘यो मुलुकमा कुनै सुविधा र सेवा छैन। किनभने सारा पैसा भ्रष्ट अधिकारीहरुकहाँ पुग्छ,’ उनी भन्छन्, ‘मजस्ता युवा जोसँग उपाय छ, उनीहरुले पहिले नै देश छाडिसके। जो देश छाड्न सक्दैनन् उनीहरु पीडा खपिरहेका छन्।’

‘बगदादमा कार बम विस्फोट हुन छाडे पनि यो मुलुकले हरेक दिन युवाहरुलाई मारिरहेको छ,’ उनले थपे।

(अल जजिराबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .