ग्लोबल


बेलायतवासी नेपालीले दिए गीतकार मुकारुङ र कवि पराजुलीलाई पुरस्कार

बेलायतवासी नेपालीले दिए गीतकार मुकारुङ र कवि पराजुलीलाई पुरस्कार

मगेन्द्र राई
पुस २२, २०७६ मंगलबार ३:४६,

‘मैले किन तिमीजस्तो पत्थर हुन नसकेको, सधैँ तिम्रो सम्झनामा पग्लिरहेँ हिउँजस्तो’ बोलको चर्चित गीतका रचनाकार एवम् संस्कृतिकर्मी शुभ मुकारुङलाई १ लाख राशिको ‘प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ।

नेपाली गीतिकाव्य तथा संस्कृतिका क्षेत्रमा खोज अन्वेषण गरी उल्लेखनीय योगदान दिएबापत उनलाई नेपाली प्रतिभा प्रतिष्ठान (बेलायत)ले पुरस्कार प्रदान गरेको हो।

यस्तै प्रयोगवादी धाराका वरिष्ठ स्रष्टा कवि गोपाल पराजुलीलाई २५ हजार राशिको ‘प्रतिभा सम्मान’ प्रदान गरिएको छ।

काठमाडौंस्थित सिटिम्याक्स सिनेमाघरमा गत शनिबार आयोजित समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ साहित्यकार वैरागी काइँलाले मुकारुङ र पराजुलीलाई टोपी, माला, नगद, दोसल्ला र सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि काइँलाले विदेशमा क्रियाशील संघसंस्थाले नेपालमा रहेका स्रष्टा तथा नेपालका संघसंस्थाले विदेशमा रहेका स्रष्टालाई सम्मान गर्ने परिपाटीले अन्तरदेशीय सम्बन्ध वृद्धि हुने बताए।

उनले भने, ‘पुरस्कार तथा सम्मानले स्रष्टामा हौसला थप्ने काम गर्छ। कला, साहित्य तथा संस्कृतिको क्षेत्रबाट पनि राष्ट्र निर्माणमा विशिष्ट योगदान पुग्ने भएकाले यो क्षेत्रको महत्वलाई सबैले बुझ्नु जरुरी छ।’

प्राडा गोविन्दराज भट्टराईले नेपाली साहित्यको श्रीवृद्धिमा डायास्पोरामा रहेका संघसंस्था र स्रष्टाहरूको उल्लेखनीय योगदान रहेको बताए। उनले भने, ‘नेपाली प्रतिभा प्रतिष्ठान बेलायत यस्तै एउटा अग्रणी संस्था हो जसले नेपाली भाषा, साहित्य उन्नयनमा प्रशंसनीय कार्य गरिरहेको छ।’

नेपाल प्रज्ञा-प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले डायास्पोरिक साहित्यको प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठानले योजना बनाएरै काम गरिरहेको सुनाए। उनले भने, ‘डायास्पारोका स्रष्टाहरूको सम्मानका लागि प्रज्ञा-प्रतिष्ठानले प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार स्थापना गरेको छ।’

प्रतिभा प्रतिष्ठानका नेपाल संयोजक तथा मानार्थ सदस्य प्राज्ञ शशी लुमुम्बूले संस्थाको गतिविधिमा प्रकाश पार्दै सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २४ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिएको जानकारी बताए।

पौवादुङमा गाउँपालिका, भोजपुरका अध्यक्ष किरण राईले नेपालको मौलिक कला-संस्कृति तथा अनुपम संस्कृतिको प्रवर्द्धनका लागि स्रष्टाले साहित्य सिर्जना गरेमा मुलुकको समृद्धिमा टेवा पुग्ने बताए। प्रतिभा प्रतिष्ठानका महासचिव एवम् समारोहका सभापति मिजास तेम्बेले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि बेलायतमा स्थापित प्रतिभा प्रतिष्ठानले निरन्तर काम गरिरहेको बताए।

उनले भने, ‘स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्दै उनीहरूको योगदानको कदर गर्नु पनि यस संस्थाको अर्को उद्देश्य हो र आज सोहीअनुसार यो समारोह आयोजना गरिएको हो।

कार्यक्रममा गीतकार संघ, नेपालका अध्यक्षसमेत रहेका गीतकार चूडामणि देवकोटाले पुरस्कृत स्रष्टा गीतकार मुकारुङ र कवि तथा समालोचक सुरेश हाचेकालीले सम्मानित कवि पराजुलीको व्यक्तित्व प्रकाश पारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .