यसैवर्ष न्युजिल्यान्डको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी जासिन्डा आर्डेन ‘फेलो’ का रुपमा विश्वविद्यालयमा नियुक्त हुने भएकी छन्।
उनलाई हार्वड केनेडी स्कुलमा दोहोरो फेलोसिप दिएर नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ।
सार्वजनिक सेवा छाडेका हाइप्रोफाइल नेताहरुप्रति लक्षित कार्यक्रम एन्जेलोपोलस ग्लोबल पब्लिक लिडर्स फेलोका रुपमा उनले काम गर्नेछिन्। यो कार्यक्रममा अनेक क्षेत्रका नेताहरुले विद्यार्थी र प्राध्यापकहरुलाई नेतृत्व सीप विकासमा सघाउँछन्।
‘जासिन्डा आर्डेनले विश्वलाई आफ्नो बलियो र समानुभूतियुक्त राजनीतिक नेतृत्व देखाइन्,’ केनेडी स्कुलका डिन डगलस एल्मेन्डर्फले भनेका छन्, ‘उनले आफ्नो देशको सीमाभन्दा धेरै परसम्म सम्मान आर्जन गरेकी छन्। र, उनले हाम्रा विद्यार्थीहरुका लागि निकै महत्वपूर्ण अन्तरदृष्टि ल्याउनेछिन्।’
‘फेलोका रुपमा हार्वड युनिभर्सिटीसँग जोडिन पाउँदा म अतुलनीय रुपमा विनम्र छु। यसले मलाई आफ्ना अनुभव अरुसँग बाँड्ने अवसर मात्र दिने छैन, यसले मलाई सिक्ने मौका पनि दिनेछ,’ आर्डेनले भनेकी छन्, ‘नेता हुँदा विचारविमर्शका लागि प्रायः कम समय हुनेगर्छ। तर, हामीले अर्को पुस्ताका नेताहरुलाई ठिकसँगले सघाउने हो भने विमर्श अति महत्वपूर्ण छ।’

यससँगै आर्डेनले हार्वर्ड ल स्कुलको बर्कम्यान क्लिन सेन्टर फर इन्टरनेट एन्ड सोसाइटीमा अर्को फेलोसिप पनि पुरा गर्नेछिन्। जहाँ उनले अनलाइनका अतिवादी सामग्री नियन्त्रण गर्ने तरिकाबारे अध्ययन गर्नेछिन्।
बुधबार इन्स्टाग्राममा उनले बोल्ने, पढाउने र सिक्ने काम गर्न लागेको बताएकी छन्।
आर्डेन ३७ वर्षको उमेरमा २०१७ मा न्युजिल्यान्डको प्रधानमन्त्री बनेकी थिइन्। उनी विश्वका कम उमेरका नेतामध्ये पर्छिन्। प्रधानमन्त्री भएपछि उनले सन्तान जन्माइन्। त्यसो गर्ने उनी विश्वकै दोस्रो प्रधानमन्त्री हुन्।
उनी प्रधानमन्त्री छँदा क्राइस्टचर्च आक्रमण, ज्वालामुखी र महामारीजस्ता अनेक संकट आइपरे। यी संकटका बेला मुलुकलाई असल नेतृत्व दिएको भन्दै उनको विश्वभर चर्चा भयो। तर, आर्थिक संकट गहिरिँदै गएपछि जनवरीमा उनले अचानक राजीनामा दिएकी थिइन्। एजेन्सी
Shares

प्रतिक्रिया