चीनले अमेरिकालाई दुई मुलुकका रक्षामन्त्रीहरुबीच सिंगापुरमा भेट हुने सम्भावना नरहेको जवाफ दिएको छ।
जुन महिनामा सिंगापुरमा सांग्रिला डाइलग सेक्युरिटी फोरम आयोजना हुँदैछ। सोहीबेला अमेरिकी रक्षामन्त्री लोइड अस्टिन चीनका नयाँ रक्षामन्त्री ली साङ्फुसँग भेट्न चाहन्छन्।
तर, उनीहरुबीचको भेट सजिलो छैन। किनभने लीलाई अमेरिकाले २०१८ देखि प्रतिबन्धको सूचीमा राखेको छ। त्यतिबेला ली जर्नेल थिए।
अस्टिनले लीलाई तेस्रो मुलुकमा भेट्न त्यो प्रतिबन्धले नरोक्ने भन्दै अमेरिकाले चीनसामु रक्षामन्त्रीद्वयको भेटका लागि प्रस्ताव गरेको छ। तर, त्यसमा चीन सहमत हुने कुनै सम्भावना नरहेको जानकारहरु बताउँछन्।
अर्कोतिर, अमेरिकाले पनि लीलाई प्रतिबन्धको सूचीबाट हटाउने सम्भावना नरहेको बताइन्छ। ह्वाइट हाउसले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
पछिल्लो समय अमेरिकी मन्त्रीहरुले चिनियाँ मन्त्रीहरुलाई भेट्न निकै कठिन भइरहेको छ।
गत नोभेम्बरमा जी २० को शिखर सम्मेलनमा भेट गरेका राष्ट्रपति जो बाइडेन र सी चिनफिङबीच सम्बन्ध स्थिर तुल्याउने सहमति भएको थियो। त्यसपछि दुई मुलुकका विदेशमन्त्रीबीच भेट्ने तय पनि भएको थियो।
तर, फेब्रुअरीमा चिनियाँ बेलुन अमेरिकी आकासमा उडेको भन्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले चीन भ्रमण रद्द गरे।
बेलुन काण्ड सेलाएपछि ब्लिंकेनले बेइजिङ भ्रमणको प्रयास गरेका थिए। ब्लिंकेन र वाङ यीबीच म्युनिखमा भेट भए पनि उनलाई स्वागत गर्न बेइजिङ अनिच्छुक देखियो।
अमेरिकाको इन्डो–प्यासिफिक कमान्डका प्रमुख एड्मिरल जोन अकिलिनो दुई वर्षदेखि चिनियाँ समकक्षीसँग भेट गर्ने प्रयासमा छन्। जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जर्नेल मार्क मिलीले पनि बेलुन काण्डयता चिनियाँ समकक्षीसँग कुनै सम्पर्क राख्न सकेका छैनन्।
त्यसैले इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज नामक थिंक ट्यांकले आयोजना गर्ने सांग्रिला डाइलगमा चिनियाँ मन्त्रीहरुलाई भेटेर दुई मुलुकका सेनाबीच सञ्चार खुलाउने प्रयासमा अमेरिकी अधिकारीहरु छन्।
जर्मन मार्सल फन्डकी चीन विज्ञ बोनी ग्लेजर अमेरिका र चीनबीचको तनावका कारण दक्षिणपूर्वी एसियाका मुलुकहरुले असहज महसुस गरेको बताइन्। अस्टिन र ली सांग्रिला डाइलगमा उपस्थित भएर पनि द्विपक्षीय वार्ता नगरी फर्किए भने ती मुलुक चकित पर्ने उनको भनाइ छ। फाइनान्सियल टाइम्सबाट
Shares

प्रतिक्रिया