लेबनानको राष्ट्रपतिका लागि १२औँ पटक निर्वाचन भएको छ, तर यसपटक पनि निर्वाचनमार्फत् राष्ट्रपति चयन गर्न त्यहाँको संसद् असफल भएको छ।
संसद्को १२ औँ अधिवेशनमा बुधबार नयाँ राष्ट्रपति चयन गर्न असफल भएपछि देश थप राजनीतिक अनिश्चिततामा फसेको छ।
राष्ट्रपति पदको दौडमा मरादा आन्दोलनका नेता स्लिमन फ्रान्गिह र त्यहाँका अर्थमन्त्री जिहाद अजौर छन्। फ्रान्गिहलाई त्यहाँको दुई ठूला दल हिजबुल्लाह र अमाल मुभमेन्टको समर्थन छ। संयुक्त गठबन्धनबाट फ्रान्गिहले ५९ मत पाउँदा प्रतिद्वन्द्वी अजौरले ५१ मत प्राप्त गरे।
तर गणपूरक संख्या नपुगेपछि राष्ट्रपति चयन हुन नसकेको हो।
सन् २०२२ को अक्टोबरमा लेबनानका पूर्वराष्ट्रपति मिचेल ओउनको कार्यकाल सकिएपछि लेबनानले राष्ट्रपति चयन गर्न सकेको थिएन।
लेबनान अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ। देशलाई राष्ट्रपतिको चयन गर्न, आवश्यक सुधारहरू कार्यान्वयन गर्न र देशलाई पुनरुत्थानको मार्गमा राख्नको लागी एक नयाँ क्याबिनेट गठन गर्नुपर्ने आवाज उठ्न थालेका छन्।
Shares

प्रतिक्रिया