ग्लोबल


कम्बोडियामा पुनः हुन सेनको शासन, ३८ वर्षदेखि निरन्तर सत्तामा

कम्बोडियामा पुनः हुन सेनको शासन, ३८ वर्षदेखि निरन्तर सत्तामा

नेपालखबर
साउन २१, २०८० आइतबार १४:१८, काठमाडौँ

प्रधानमन्त्री सम्देच टेको हुन सेनको नेतृत्वमा रहेको सत्तारूढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले भर्खरै सम्पन्न भएको भएको आम निर्वाचनमा अत्यधिक बहुमतले विजयी भएको छ।

निर्वाचनको यो नतिजासँगै प्रधानमन्त्री सम्देच टेको हुन सेनको सत्ता आगामी ५ वर्षको लागि निरन्तर हुनेछ। निर्वाचन भएको १२५ संसदीय सिटमध्ये प्रधानमन्त्रीको पार्टी सीपीपीले १२० सिटमा जीत हासिल गरेको छ भने बाँकी ५ सिट फनसिनपेक पार्टीले जितेको राष्ट्रिय निर्वाचन समिति (एनईसी) बताएको छ।

प्रधानमन्त्री सम्देच टेको हुन सेन सन् १९८५ देखि निरन्तर सत्तामा छन्। सातौं आमनिर्वाचनमा १८ राजनीतिक दलले प्रतिष्पर्धा गरेका थिए।

सत्तारुढ पार्टी सीपीसीले निर्वाचनमा खसेको कुलमतको ८२.३ प्रतिशत मत प्राप्त गरेको बताइएको छ। ३८ वर्षभन्दा बढी समयसम्म कम्बोडियाको प्रधानमन्त्रीको रूपमा रहेका सेन ७० वर्ष पुगिसकेका छन्। 

प्रधानमन्त्री सेनले यही अगस्ट २२ मा प्रधानमन्त्रीको शपथग्रहण गर्नेछन्। अर्को वर्ष फेब्रुअरी २५ मा हुने सिनेटको निर्वाचनपछि सिनेटको अध्यक्षको पद पनि लिनेछन्। 

कम्बोडियामा भएको निर्वाचनलाई विश्वले मिश्रित प्रतिक्रिया दिएको छ। शक्ति राष्ट्र चीनले निर्वाचनलाई स्वागत गरेको छ भने अमेरिकाले न त स्वतन्त्र न निष्पक्ष भनेर टिप्पणी गरेका छ। कतिपय पश्चिमा राष्ट्रहरूले अधिनायकवादी शासन बिस्तार भनेर टिप्पणी गरेका छन्।

आफ्नो ३८औं वर्षको सत्तामा पुगेका हुन सेनले जिम्बाबेका स्वर्गीय रोबर्ट मुगाबे र लिबियाका स्वर्गीय मुअम्मर गद्दाफी जस्ता लामो समय सत्ता र शक्तिमा बस्नुभएका व्यक्तिहरूलाई पछाडी पारेका छन्। 

यससँगै उनी विश्वको लामो समयदेखि जीवित राजनीतिक नेतृत्व गरिरहेका नेताहरूको सूचीको शीर्षमा परेका छन्।

प्रधानमन्त्रीको हुनसेनको कार्यकालमा राजनीतिक दमन, अभिव्यक्ति स्वतन्त्रतामा प्रतिवन्ध, असहमतिको दमन, मानवअधिकार हननका आरोप जस्ता विषयलाई लिएर विश्वव्यापी मानवअधिकार संगठनहरूले आलोचना गर्दै आएका छन्। 

हालै सम्पन्न निर्वाचनको नेपालका पूर्व प्रधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि मात्रै पर्यवेक्षण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad